नेप्से सूचक ९५.५२ अंकले बढ्यो

नेप्से सूचक ९५.५२ अंकले बढेर दुई हजार चार सय २०.९६ बिन्दुमा पुगेको छ । कारोबार रकम बढाउँदै बजारले आकर्षक बाउन्सब्याक गरेको छ ।

आज एक सय ९३ वटा कम्पनीको मूल्य बढेको छ । कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइरहेको र बजार निकै तल्लो बिन्दुमा पुगिसकेकाले पनि बजार बढेको उनको भनाइ छ । ढकालले भने, ‘बजार बिस्तारै करेक्सन हुँदै बढ्ने माहोल बन्दै गएको छ ।’

आज कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । फाइनान्स समूहको सूचक ८.६० प्रतिशत, जलविद्युत् समूहको ७.३२ प्रतिशत, विकास बैंक समूहको सूचक ६.५७ प्रतिशतले बढेका छन् । माइक्रो फाइनान्स समूह, निर्जीवन बिमा समूहको सूचक ३ प्रतिशतदेखि ५ प्रतिशतले बढेका छन् । आज १३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट छन् ।

सेयर बजारमा आएको सुधारसँगै कारोबार रकम बढेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३८ कम्पनीको ६६ लाख ३९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

सानिमा बैंकको प्रमोटर सेयर, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड देखि २२ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रको मूल्य नौ दशमलव ८९ प्रतिशत र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *