काठमाडौँ। सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ। सिमरा विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार, बुद्ध एयरको उडान नम्बर ५५३ बाट ११ बजे एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो।
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा भेला भएका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गर्ने त्यहाँको नागरिक उड्डयन कार्यालयले गरेको अधिकारीले बताए। ‘दुई समूहबीच बोतल हानाहान भएपछि यहाँको सुरक्षा अवस्था बिग्रिएको छ। अहिले सिमरा विमानस्थल बन्द गर्ने निर्णय भएकोले काठमाडौँबाट विमान आएका छैनन्। दुवै नेताको सिमराको उडान पनि रद्द भएको सुनेकै छ,’ विमानस्थल प्रमुख अधिकारीले बताएका छन्।







