काठमाडौं । विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले मुग्लिन–पोखरा सडकमा मंगलबारदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण/आंशिक रोक लगाइनेछ ।आयोजनाका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन २ लेनको प्रिस्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भएको छ ।
यो काम अति संवेदनशील भएकाले सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा गर्न नसकिने हुँदा दिउँसोमा सवारी आवागमन रोकेर काम गर्नुपर्ने बाध्यता रहेको पश्चिम खण्डले जारी गरेको सूचनामा उल्लेख छ ।
सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । जसअनुसार दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
ठूला तथा मालबाहक सवारीसाधनका लागि पावरहाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट तोकिएको छ ।






