विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आइपे)बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा यस बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।
मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिक, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आउनुभएका नेपाली महानुभावहरूले अब बिना झन्झट आइपेको एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन् । यस सुविधाका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।
यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काका महानुभावहरूले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा आफ्ना ग्राहक महानुभावहरुको सहजताका लागि मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको छ ।
आन्तरिक रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहक महानुभावहरूले आफ्नो NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्नुहुनेछ र यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । त्यसैगरी Receive Remit सुविधा अन्तर्गत यस बैंकका ग्राहक महानुभावले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनैपनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै NIC ASIA MoBank df Receive Remit गरेर यस बैंकमा रहेको खातामा सोझै जम्मा गर्न सक्नुहुनेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं १ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ







