काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय सँस्था सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावल पुन: विवादमा तानिएका छन्।
नियामक निकायको जिम्मेवार पदमा रहेर विभिन्न बैंकहरुका वित्तीय अपराध ढाकछोप गर्ने र अपराधमा ‘कारबाही तथा जरिवाना हुँदैछ’ भन्ने बिषयको अग्रिम सूचना सम्बन्धित पक्षलाई दिएर अपराधबाट उन्मुक्त हुन सघाउँदै आएका रावल कारबाहीको प्रकृया चल्दाचल्दै एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई गोप्य रुपमा भेट गरेपछि थप विवादमा तानिएका हुन्।
राष्ट्र बैंकका एक अघिकारीका अनुसार सोमबार दीर्घ रावलले एनआईसी एशिया बैंकका अध्यक्षलाई गोप्य रुपमा भेटेका छन्। रावलसँग भेट गरेर अध्यक्ष अग्रवालले आँफूमाथि गर्न लागिएको कारबाहीलाई सकेसम्म रोकिदिन, या सहज तरिकाले टुंग्याउन अनुरोध गरेका छन्। नियामकीय निर्देशन उलंघनसँगै गम्भीर वित्तीय अपराध गरेको निष्कर्षसहित एनआईसी एशिया बैंक तथा बैंकका तत्कालिन सीईओ रोशनकुमार न्यौपानेलाई स्पष्टिकरण सोधी नगद जरिवाना गराउने तयारी गरिरहेकै समयमा आरोपीत अध्यक्ष अग्रवाललाई गोप्य रुपमा, त्यसमाथि एक्लै भेट गर्नुलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का रुपमा हेरिएको छ।
राष्ट्र बैंकका अधिकारीहरुसँगको भेटको व्यवस्था भने रावलका मामा जयन्द्र रावलले मिलाएको बुझिएको छ। सीइओ न्यौपाने तथा बैंकका अध्यक्षलाई स्पष्टिकरण सोध्ने तयारी हुँदैछ भन्ने सूचना मामा रावलमार्फत् बैंकसम्म पुगेपछि न्यौपानेले स्पष्टिकरण सोध्नुभन्दा ४ घन्टाअघिनै राजिनामा बुझाएर गत असोज २ गतेनै राजीनामा बुझाएर बैंकबाट बाहिरिसकेका छन्। मामा रावल एनआईसी एशिया बैंकका सहायक सीइओ हुन्।
यधपि राजिनामा बुझाएर पद छोड्दैमा न्यौपानेमाथिको कारबाही प्रकृया नरोकिने राष्ट्र बैंकले जनाएको छ।
तत्कालिन सीइओ न्यौपानेले पनि स्पष्टिकरणको जावाफ पठाईसकेका छन्। पटक-पटक नियामकीय निर्देशन उलंघन गर्दै आएको बैंक तथा सीईओ न्यौपानेमाथि राष्ट्र बैंकले २ लाख नगद जरिवाना गराउने तयारी गरेको छ। सोहि सूचना राष्ट्र बैंकबाटै बाहिरिएपछि अध्यक्ष कारबाही टार्न हारगुहार गर्दै राष्ट्र बैंक पुगेको र भेटमा ‘गोप्य डिल’ सम्म भएको हुनसक्ने आशंका गरिएको छ। यसपटक गरिएको अनुसन्धान निष्पक्ष भएको र एनआईसी एशिया तथा पदाधिकारीमाथि हुने कारबाही कसैको दवाव या प्रभावमा नरोकिने आंकलन गरिरेकै बेला अध्यक्षले सम्बन्धित आरोपीलाई एक्ला-एक्लै भेट गरेपछि कारबाही हुने बिषयमा संका उत्पन्न भएको छ।
यस सम्बन्धमा राष्ट्र बैंक कानुन विभागका एक अधिकारीले अनुसन्धान चलिरहेकै समयमा तिनै व्यक्तिलाई गोप्य रुपमा भेट्नु राष्ट्र बैंकको निर्देशिका एवं नियमविपरीतको काम भनेका छन्। उनी भन्छन्, – ‘दीर्घजीसँग अध्यक्ष अग्रवालले एक्लै भेट गरी कारबाही प्रकृया अघि नबढाउन भनेको भन्ने कुरा मैले पनि सुनेको हुँ। एक्लै भेट गरेकाले भेटमा ठ्याकै के-के कुराकानी भयो त्यसबारे मैले बोल्न मिल्दैन, औपचारिक रुपमा आउला। तर, जोमाथि अनुसन्धान भैरहेको छ, उसैसँग गोप्य तरिकाले भेट्नु सँस्थागत आचरण एवम् पदिया मर्यादाविपरीत हो।’ रावल निकट स्रोतका अनुसार भने अध्यक्ष अग्रवालले बैंकका नियमित कामकारबाहीका सम्बन्धका भेट गरेको दावी गरेका छन्। अध्यक्ष रावलले भने यस भेटका सम्बन्धमा कुनै प्रतिक्रिया दिन चाहेनन्।
उनका अनुसार रावल बैंककै कर्मचारीहरु मार्फत् राष्ट्र बैंक पुगेका थिए। तर, उनले ति कर्मचारीहरु को थिए भन्ने बिषय भने खुलाएनन्।
त्यस्तै, रावलले सोहि दिन गभर्नर पौडेलसँग पनि गोप्य रुपमा भेट गरेका छन्। कोहि व्यक्ति वा सँस्थासँगको भेटबारे गलत अर्थ नलागोस् भन्ने उदेश्यले नै गभर्नरलगायत कार्यकारी निर्देशकहरुले समेत कम्तिमा एक जना अफिसरसँगै राखेर भेटवार्ता गर्ने गर्दछन्। तर, सामान्य भेटमा समेत निर्देशक शरण अधिकारीलाई सँगै राखेर वार्ता गर्ने गभर्नरले अग्रवालसँग झन्डै १ घण्टासम्म एक्लै भेट गरेपछि उनीमाथि समेत विभिन्न संका उपशंका उत्पन्न भएको छ। अध्यक्ष अग्रवाल र तत्कालिन सीइओ न्यौपाने यसअघि पनि क्याप्टेन रामेश्वर थापाको सहयोगमा राष्ट्र बैंकलाई प्रभावमा पारी वित्तीय अपराधबाट उन्मुक्त भएका थिए।
आर्थिक बर्ष २०८०/ ८१ को दोस्रो त्रैमासमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सञ्चालक समिति अध्यक्ष अग्रवाललाई तथा सीईओले वित्तीय अपराध गरेको निष्कर्ष निकालेको भए पनि राष्ट्र बैंकले सीइओ न्यौपानेलाई नसिहत मात्रै दिएको थियो ।
न्यौपानेले अधय्क्ष, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको थियो ।
आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष श्री तुलसीराम अग्रवाल, संचालक श्री त्रिलोकचन्द्र अग्रवाल तथा संचालक श्री रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिएको भए पनि सोहि अपराध पटक- पटक दोहोरिएको र प्रोभिजन गर्न भनिएका कर्जाको प्रोभिजन नगरेको भेटेपछि राष्ट्र बैंकले यस पटक राष्ट्र बैंक निर्देशिकाअनुसार नगद जरिवाना गर्ने तयारी गरेको हो।







