नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने भएको छ।
पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।
स्थापित अहिले बागमती प्रदेश सांसद र बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्। २०५४ सालमाकाठमाडौं महानगरपालिकामा मेयर जितेका स्थापितलाई एमालेले यसपालि पनि उम्मेदवार बनाएर अघि सारेको हो।
एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् । उनले आफ्नो ८ खम्बे विकास मोडेलमा ‘स्वच्छ वातावरण, यातायात व्यवस्थापन,राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट’ लाई समेटेकी थिइन् । उनी पूर्व मिस नेवा हुन्।







