काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड वित्तीय संकटमा छ। यसको मुख्य दोषी अध्यक्ष तुलसी राम अग्रवाल हुन्। नेपाल राष्ट्र बैंकले उनलाई हरेक आर्थिक बर्षमा पट-पटक कारबाही गरिसकेको छ। नियामकीय निर्देशनविपरीत काम गर्दै आएका अग्र्वाललाई आर्थिक बर्ष २०८२/८३ को सुरुवात मै पनि राष्ट्र बैंकले स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणमा उनलाई नगद जरिवाना किन नगर्ने ? भनेर जवाफ माग गरिएको छ। अध्यक्ष अग्रवालसँगै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत सोधिएको स्पष्टीकरणमा वित्तीय अपराध भएको निष्कर्ष निकालिएको छ। राष्ट्र बैंक स्रोतका अनुसार नियामकीय निर्देशन पटक-पटक उलंघन गरेको भेटिएकाले राष्ट्र बैंकले २ लाख रुपैयाँ नगद जरिवाना गराउँदै छ।
बैंकको पछिल्लो वित्तीय विवरणअनुसार बैंकको नाफा झन्डै शतप्रतिशतले घटेको छ। यसको मुख्य कारण व्यवस्थापनमाथि अध्यक्षको ठाडो हस्तक्षेप रहेको राष्ट्र बैंकको ठहर छ। केन्द्रीय बैंकका पूर्व कार्यकारी निर्देशकहरुका अनुसार पनि बैंकमा अध्यक्ष तुलसीराम अग्रवालको अनावाश्यक हस्तक्षेप हुँदै आएको छ। जुन राष्ट्र बैंकले सार्वजनिक गर्ने सुपरिवेक्षण प्रतिवेदनमै औंल्याएको छ।
अध्यक्षको हस्तक्षेप- क्षेत्राधिकारभन्दा बाहिर
अध्यक्ष अग्रवालले पदको चरम दुरुपयोग गरिरहेका छन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३’ को दफा १८ ले सञ्चालक समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा गरेको छ । जसमा बैंक वा वित्तीय संस्थाको समग्र जोखिम व्यवस्थापन गरी निक्षेपकर्ता, ग्राहकवर्ग तथा सर्वसाधारण शेयरधनीको हितमा बैंक वा वित्तीय संस्थाको सञ्चालन गर्नु एवं बैंक वा वित्तीय संस्थामा उपयुक्त संस्थागत सुशासन कायम गरी – ‘निक्षेप लिने, कर्जा दिने, लगानी गर्ने, कर्मचारी व्यवस्थापन गर्ने र बजेट खर्च गर्ने जस्ता बैंक वा वित्तीय संस्थाको दैनिक काम कारोबारमा हस्तक्षेप नगर्ने विषयको प्रत्याभूति गर्नु’ बैंक सञ्चालक समितिको कर्तव्य हुनेछ’ भनी प्रष्ट व्यवस्था छ।
अध्यक्ष अग्रवालले यस व्यवस्थाको ठाडो उल्लंघन गरेका छन्। बैंक संचालनका दैनिक कामकारबाही समेत उनी आँफै हेर्ने गरेका छन्। व्यवस्थापनको क्षेत्राधिकारभित्र छिरेर बैंक सञ्चालनका प्रत्येक सूक्ष्म विषयमा अग्रवालले हस्तक्षेपगर्ने गरेका छन्। स्पष्ट रुपमा भन्नुपर्दा उनले पदीय दायित्वभन्दा बाहिर गई ‘माइक्रो- मेनेजमेन्ट’ गर्दै आएका छन्। सीईओले आफ्नो क्षमता देखाउन सकेका छैनन्। फलस्वरूप बैंकको वित्तीय अवस्था दिनप्रतिदिन खस्किंदै गएको छ।
अध्यक्ष अग्रवालले बैंक संचालनका दैनिक काम कारबाही – ‘निक्षेप लिने, कर्जा लगानी गर्ने, कर्मचारी व्यवस्थापन, बजेट खर्च जस्ता काम / कारोबार आँफै गर्दै आएकै कारण अपेक्षित नतिजा आउन सकेको छैन। विधी र प्रकृयाभन्दा बाहिर गइ काम गर्दा एनआईसी एशिया हरेक त्रैमासमा राष्ट्र बैंकको कारबाहीमा पर्दै आएको छ। बैंक व्यवस्थापनको नेतृत्वमा ‘सीईओ’ भए पनि अध्यक्षको हस्तक्षेप एवम् निर्देशनअनुसार काम गर्नुपर्ने बाध्यताकासँगै आफ्नो सिप क्षमता/ दक्षता अनुसार काम गर्न नपाउँदा केहि प्रमुख कार्यकारी अधिकृत आलोचित बन्दै बैंक छोड्न बाध्य भए भने केहिले अध्यक्षको हस्तक्षेप स्वीकार नहुने भन्दै राजिनामा बुझाए। अझै अध्यक्षको काम गराई उस्तै छ।
पटकैपिच्छे नियामकीय निर्देशन उल्लंघन
त्यस्तै, वाफियाको प्रावधानअनुसार बैंक संचालक समिति अध्यक्षले – ‘बैंकका काम सुव्यवस्थित रुपले सञ्चालन गर्न प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाई लागू गर्नुपर्ने हुन्छ। तर, अग्रवालले राष्ट्र बैंकको निर्देशन पालना नगरी कानुनविपरीतका काम गर्दै आएका छन्।
उनले आफ्ना आफन्तका नाममा ‘ब्याक डेट’ मा खाता खोली ऋणीलाई फिर्ता गर्नुपर्ने रकम फिर्ता नगरी (रिबेट) सोहि खाता जम्मा गरी चल्तीभन्दा बढी ब्याज दिएका छन्। यसलाई राष्ट्र बैंकले वित्तीय अपराध भएको निष्कर्षसहित अध्यक्षलाई कार्बाहीस्वरूप सचेत गराएको छ भने सीइओलाई नसिहत दिएको छ। सोहि समयमै राष्ट्र बैंकले उक्त कसुरमा नगद जरिवाना गराउने तयारी गरेको थियो तर, राजनीतिक पहुँचमा उनले उन्मुक्ति पाए।
त्यस्तै, बैंक वा वित्तीय संस्थाको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आफ्नो नीति र रणनीति अनुरुप बैंकिङ्ग तथा वित्तीय कारोबार होसियारीपूर्वक सञ्चालन गर्न आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापन मापदण्ड तयार गर्नुपर्ने अध्यक्षको काम हो। तर , विवेकशील तबरबाट बैंक संचालन गर्नुपर्नेमा सञ्चालन अध्यक्ष अग्रवाल आँफै यसका विरुद्दमा ‘बैंकिङ्ग सिस्टमभन्दा बाहिर’ गइ दैनिक रुपमा हुने काम कारबाहीमा प्रत्यक्ष संलग्न हुँदै आएका छन्। अग्रवालले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत आफ्ना दाजु जगदीश अग्रवाललाई ‘बोर्ड एडभाइजर’ बनाएका छन्।
अवैध’ अध्यक्ष
अध्यक्ष तुलसीराम अग्रवालको नियुक्ति नै अवैध छ। राष्ट्र बैंकको एकीकृत निर्देशनमा बैंक संचालक समिति अध्यक्षको उमेर हदमा सम्बन्धमा प्रष्ट व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशिका ७० बर्ष नाघेका व्यक्ति बैंकको अध्यक्ष हुन नपाउने व्यवस्था छ। तर, अग्रवाल उक्त प्रावधान विपरीत अध्यक्ष पदमा रहिआएका छन्। राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अग्रवाल राजनीतिक पहुँच देखाएर राष्ट्र बैंक नेतृत्वलाई समेत प्रभावमा पारी प्रचलित कानुन एवं प्रवधानविपरीत बैंक संचालन गरिरहेका छन्।
अध्यक्ष – सीइओ ‘आँफै’
बैंक व्यवस्थापनको जिम्मेवारीमा ‘सीइओ’ रहन्छन् । व्यवस्थापनका काम कारबाही संचालक समितिमा जानकारी गराउनुपर्ने भएको खण्डमा त्यसको जिम्मा सीइओमाथि हुन्छ। तर, सार्वजनिक सँस्थालाई ‘निजी घरझैँ’ चलाईरहेका अग्रवालले सीइओको सल्लाह सुझावभन्दा बढी ‘सुलसुले’ कर्मचारीका सल्लाह लिने गरेका छन्। राष्ट्र बैंकका एक अघिकारीका अनुसार अग्रवालले सीइओ रोशनकुमार न्यौपानेलाई पन्छाएर रिस्क डिपार्टमेन्टमा प्रमुख कमल खड्का र अडिटका चिफ दिपक ढकालको सल्लाहमा संवेदनशील निर्णय लिएका थिए। उक्त निर्णय नियामकिय प्रावधानविपरीत भएकाले राष्ट्र बैंकको कारबाहीमा परेका हुन्।
नियमअनुसार सिईओले बैंकको दैनिकी सञ्चालन, नीति कार्यान्वयन र व्यवस्थापनको जिम्मेवारी लिन्छन्। अध्यक्षको भूमिका नीति निर्माण र निगरानीमा सीमित हुन्छ। तर, एनआईसी एशियामा यसको ठ्याकै विपरीत छ। अध्यक्ष आफ्नो कामभन्दा सिईओको काम बढी गर्छन्। जुन सँस्थागतभन्दा उनका व्यक्तिगत लाभका लागि हुँदै आएको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छन्।
यधपि अध्यक्ष अग्रवालले भने बैंकको वित्तीय अवस्था सुधार नहुनु/ खस्किनुको दोष प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई लगाउँदै जिम्मेवारीदेखि पन्छिदै आएका छन्।







