काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
२०८१ असोज मसान्तसम्म १५ अर्ब ४२ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो ।
उद्योग विभागकाअनुसार असोज मसान्तसम्म अप्रुभल रुटबाट ३३ अर्ब २७ करोड ४८ लाख र अटोमेटिक रुटबाट १ अर्ब ८६ करोड २९ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।
यस अवधिमा कुल ३११ उद्योग दर्ता भएका छन् । विभागका अनुसार असोज मसान्तसम्म कुल एफडीआई प्रतिबद्धता भने ६ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ बराबर पुगेको छ । असोज महिनामा मात्र २ अर्ब ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
साउन र भदौमा उल्लेख्य लगानी प्रतिबद्धता आए पनि भदौ अन्तिम साताको राजनीतिक उथलपुथलको असर असोजमा नकारात्मक देखिएको छ । तथ्यांक अनुसार असोजसम्म ठूला उद्योग ७ वटा दर्ता भएका छन् । मझौला ४ र अन्य साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । असोजमा मात्र ७५ उद्योग दर्ता भएकोमा सबै उद्योग साना प्रकृतिका छन् ।







