खुलेआम व्यापारीहरूले कालाेबजारी र म्याद गुज्रिएकाे सामान बेच्ने गरेकाे भन्दै प्रशासनकाे कडा आलाेचना भएपछि बल्ल बजार अनुगमन गरिएकाे छ ।सदरमुकाम खलंगाका ठूला व्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउँका बजार र पसलमा पठाउने गरेको भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार अधिकांश पसल दर्ता नभएको भेटिएको छ । दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु बिक्री भइरहेकाले स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्नेमा उनले बताइन् ।
बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गर्दा स्टिम नुडल्स, चिसाेपेय पदार्थसहित बस्तुकाे म्याद सकिएको भेटिएको थियो । जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदील बताए ।
हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि काम गर्न सकिरहेको छैन । पसलमा ढकतराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए ।







