काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ गते केपी शर्मा ओलीले आफै बानेश्वरमा गएर हतियार चलाएजस्तो कुप्रचार गरिएको टिप्पणी गरेका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै षड्यन्त्रकारीहरूको षड्यन्त्रले सरकारबाट बाहिरिन परे पनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने जिकिर गरे ।
उनले भने, ‘सरकारबाट हामी हट्नुपर्यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौँ। हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौँ । जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’
इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनका बेला सरकार प्रमुख रहेकाहरू को माथि कारबाही भएको छ भन्दै प्रश्न पनि गरे ।
‘अहिले हाम्रो अध्यक्ष केपी शर्मा ओली माथि आक्रमण भइराखेको छ। हाम्रो पार्टीका अध्यक्षले बानेश्वरमा गएर आफैले हतियार चलाएजस्तो कुप्रचार भइरहेको छ,’ उनले भने, ‘म तपाईंहरूलाई सुनाउन चाहन्छु। नेपालको इतिहासको विभिन्न कालखण्डमा राज्य र विद्रोहीका बीचमा द्वन्द्व भएका बेलामा मानवीय क्षति भएको स्थितिमा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ?’






