सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव, भारतको बिहार बाढी

काठमाडौं। लगातारको भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। पानीको सतहले अत्यन्तै उच्च खतराको तह पार गरेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने ब्यारेज भएर चल्ने ठूला तथा भारयुक्त सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको छ।

आइतबार साँझसम्मको मापनअनुसार, कोशीमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ। यसलाई अत्यन्तै उच्च खतराको अवस्था मानिन्छ। बहाव स्थिर रहे पनि पहाडी जिल्लाहरूमा भीषण वर्षा जारी रहेकाले स्थिति थप जटिल बन्न सक्ने भन्दै तटिय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

सुनसरी प्रहरीका अनुसार आइतबार अपराह्नदेखि वर्षाको क्रम बढेसँगै सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ठूला र भारयुक्त (हेभी) सवारी साधनलाई ब्यारेजमा रोक लगाइएको हो।  ब्यारेजका सबै ढोका खोलिएपछि नदीको पानीले भारतको बिहार राज्यमा असर पारेको छ।

भारतको सुपौल जिल्ला पूर्ण रूपमा र अररिया जिल्लाका केही भागमा बाढी पसेको हो। वीरपुरका स्थानीय रक्की सिंहका अनुसार, बाढीबाट भीमनगर, वीरपुर र बसमतियासहितका बस्तीहरू उच्च जोखिममा परेका छन् र त्यहाँका बासिन्दाहरू सुरक्षित स्थलतर्फ सर्ने क्रम जारी छ।

स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै प्रदेश सरकारका मन्त्री रेवती भण्डारीसहितको टोलीले कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेको छ।टोलीले तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *