आइतबारदेखि निर्माणको कार्य ठप्प हुने भएको छ । बजारमा निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि निर्माण होलिडे घोषणा गरेको हो । महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको मूल्य ३ गुणासम्म बढेकाले काम गर्न नसकेको बताए । उनका अनुसार अहिले बजारमा अधिकांश निर्माण सामग्रीको मूल्य बढेको अवस्थामा निर्माण कार्यलाई अगाडि बढाउन सक्दैनौं ।
‘सरकारले निर्माण सामग्रीको मूल्य बढेको आधारमा समायोजन गर्नुपर्छ,’ सिंहले भने, ‘सार्वजनिक खरिद नियमावलीसमेत मूल्यवृद्धि भएको आधारमा मूल्य समायोजना गर्न सक्ने व्यवस्था गरेको छ । सोहीअनुसार मूल्य समायोजन गर्नुपर्छ । पुरानो मूल्यमा हामी काम गर्न सक्ने अवस्थामा छैनौं ।’
महासंघले आज सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिको कार्यालयमा शान्तिपूर्ण आन्दोलन गरेको छ । उक्त आन्दोलन व्यवसायीहरूले शुक्रबार पनि गर्ने भएको छ । व्यवसायीहरूले विगत लामो समयदेखि निर्माण होलिडे मनाउने तयारी गरेको थियो । तर, सरकारले व्यवसायीलाई आश्वासन मात्रै दिए । तर, सम्बोधन भएन । त्यसैले, आइतबारदेखि निर्माण होलिडे मनाएर सरकारलाई सहयोग गर्ने उनको भनाइ छ ।
निर्माण व्यवसायीले यसभन्दा अगाडि पनि सरकारले मूल्यवृद्धिलाई सम्बोधन नगरे निर्माण होलिडे मनाउने चेतावनी दिएको थियो । महासंघले गत चैत १४ गते राष्ट्रिय भेला गरेर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको थियो ।







