निजी गाडी आयातमा रोक लगाएको सरकारले राज्यको ढुकुटीबाट साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिदको प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र केहि बिचौलियाबीचको मिलेमतोमा रुसबाट ‘एमआई–१७ भी ५’ का दुई हेलिकोप्टर किन्न लागिएको हो । विदेशी विनिमय सञ्चिति संकटपूर्ण भएको भन्दै विभिन्न विलासिताका बस्तु आयत रोकेको सरकारले २०७४ सालदेखि रोकिएको प्रस्ताव अघि बढाएको हो ।
दुई हेलिकोप्टर खरिदका लागि नेपाललाई करिब साढे ४ अर्ब रुपैयाँ पर्छ । हेलिकोप्टर खरिदबिक्री प्रक्रियाका लागि रसियन टोली अहिले काठमाडौंमा नै छ । उक्त टोलीले अर्थमन्त्री शर्मा र नेपाली सेनाका उच्च अधिकारीसँग निरन्तर भेट गरिरहेको स्रोतको दावी छ । मंगलबार मात्रै अर्थमन्त्री शर्मा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको थियो । ‘भेटघाटमा अन्य अधिकारीलाई प्रवेश दिईएन ।
सेनाले ०७४ पुस १२ मा रुसी कम्पनी ‘रोजोबोरोनएक्स्पोर्ट’ सँग दुईवटा ‘एमआई–१७ भी ५’ हेलिकोप्टर खरिदका लागि सम्झौता गरेको थियो । रुसी सरकारी कम्पनीका तर्फबाट दूतावासका अधिकारी र नेपालका तर्फबाट सैनिक मुख्यालयका एक प्रतिनिधिबीच सम्झौता भएपछि अर्थ मन्त्रालयसंग बजेट माग भयो तर अर्थले बजेटको स्रोत सुनिश्चितता गरेन। तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा पनि नयाँ हेलिकोप्टर किन्न सकारात्मक भएनन् ।
अहिले देशको अर्थतन्त्र श्रीलंकाको आर्थिक संकटसंग तुलना गरेर संकट समाधानको विकल्प खोज्नुपर्ने अवस्थामा अर्थमन्त्रीस्तरीय निर्णय गरेर हेलिकोप्टर खरिद गर्न बजेट दिने निर्णय भइसकेको छ ।अर्थमन्त्री जनार्दन शर्माले नै उक्त रोकिएको फाइल अघि सरिसकेका छन्। हाल बिचौलियाले अर्थमन्त्री शर्मालाई हेलिकोप्टर खरिदका लागि बजेट दिने सहमत गराएपछि प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। गत माघ ८ गते रसियन कम्पनीले प्रधानसेनापतिलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।







