अधिकांश बैंकहरुको कर्जा निक्षेप अनुपात सीडी रेसियो ९० प्रतिशत भन्दा माथि पुगेको छ । सीमाभन्दा माथि पुगेको सीडी रेसियोलाई आगामी असार मसान्तसम्म सीमाभित्र ल्याउन राष्ट्र बैंकले अहिलेदेखि नै बैंकहरुलाई दवाव दिन थालेको छ ।
राष्ट्र बैंकले सीडी रेसियोको सीमा कटाउने बैंकहरुलाई बोलाएर ०७९ असार मसान्तमा सीमाभित्र ल्याउने कार्ययोजना पेश गर्न निर्देशन दिन थालेका छन् ।
स्रोतका अनुसार आगामी असार मसान्तसम्ममा तोकिएको सीमाभित्र सीडी रेसियो ल्याउने कार्ययोजना पेश गर्न राष्ट्र बैंकका अधिकारीहरुले पटक पटक निर्देशन दिइएको छ ।
केन्द्रीय बैंकका अनुसार अहिलेदेखि नै घच्घच्याएन भने अधिकांश बैंकले सीडी रेसियो आगामी असार मसान्तमा पनि ९० प्रतिशतभन्दा बढी नै हुने संभावित आँकलनका आधारमा ताकेता गरिएको हो । राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई हटाएर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियोको व्यवस्था लागू गरेको थियो । यो व्यवस्था कार्यान्वयन गर्नका लागि ०७९ असार मसान्तसम्मको समय सीमा दिइएको छ ।
अहिले सीडी रेसीयोको सीमा कटाउँदा राष्ट्र बैंकले कारबाही नगरे पनि बैंकहरुले तोकिएको समयमा सीमाभित्र ल्याउने प्रष्ट कार्ययोजनाभने राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने छ । अहिले बैंकहरुले धमाधम कार्ययोजना पेश गरिरहेका छन् ।
चैत मसान्तसम्म झन्डै डेढ दर्जन वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । अहिले सीडी रेसियोमा बैंकहरुले निक्षेपमा ऋणपत्र, विदेशी ऋण र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ०७९ असार मसान्तपछि भने ऋणपत्रलाई पुँजी वा स्रोतमध्ये कुनै एक शिर्षकमा मात्रै गणना गर्न पाइनेछ ।






