नेपाल असाधारण सम्भावना बोकेको मुलुक हो, गरिब होइन : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल गरिब मुलुक नभई सम्भावनाले भरिएको देश भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नवयुग उद्यमशाला कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालीहरूले नै नेपालको सामर्थ्य बुझ्न नसकेको उल्लेख गरे। “नेपालमा असाधारण सम्भावना छ भन्ने कुरा छिमेकीले बुझिसके, तर हामी आफैंले बुझ्न सकेका छैनौं,” उनले भने।

पोखरेलले भारत सरकारले नेपालमा व्यापारको प्रचुर सम्भावना देखेर सातवटा भन्सार विन्दुमा आफ्नै लगानीमा रेल ल्याउने प्रस्ताव गरेको उल्लेख गरे। “नेपाल व्यापारको केन्द्र बन्दैछ भन्ने बुझेर नै भारत तयार भएको हो,” उनले बताए।

उनले नेपालजस्तो उत्पादन क्षमतायुक्त देश अरव मुलुक भए उनीहरूले कसरी उपयोग गर्थे होला भन्ने प्रश्न गर्दै, नेपालीहरू आफैंले आफ्ना प्राकृतिक सम्पदालाई उपेक्षा गरेको गुनासो गरे।

रोजगारीका लागि विदेश जाने नेपालीले पठाएको रेमिट्यान्सकै भरमा देश चलेको भनिए पनि त्यसको ठूलो हिस्सा नेपालमा काम गर्ने भारतीय कामदारले फिर्ता लगेको भन्दै उनले ‘वास्तवमा नेपाली श्रम भारतीय अर्थतन्त्रमा खर्च भइरहेको’ धारणा राखे।

देश बनाउन नागरिकको सक्रिय सहभागिता र राज्यसँगको जीवन्त सम्बन्ध आवश्यक भएको उल्लेख गर्दै उनले भने, “लोकतन्त्रमा नागरिक र राज्यबीच गहिरो सहकार्य नभए मुलुक समृद्ध हुन सक्दैन।”

पोखरेलले जोखिम बहन गर्ने मानसिकता विकास नगरी समृद्धिको सपना पुरा नहुने बताउँदै परम्परागत निर्वाहमुखी सोचबाट बाहिरिनु पर्नेमा जोड दिए। “जहाँ अभाव छ, त्यहीँ विकासको सम्भावना हुन्छ,” उनले भने।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *