विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपतिले सक्रिय राजनीति नगरेको राम्रो हुने सुझाव दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले पूर्वराष्ट्रपतिले राजनीतिमा फर्कनु संवैधानिक हिसाबले सम्भव भए पनि त्यस्तो नगर्नु उचित हुने धारणा राखेका हुन् ।
‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘तर मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो। तर फर्कन त कसले रोक्न सक्छ र?’
कोइरालाले आफू सक्रिय राजनीतिमा रहेकाले राष्ट्रपति र पूर्वराष्ट्रपतिसँग भेटघाट भइरहने स्पष्ट पारे। उनले हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेट पनि सामान्य राजनीतिक प्रक्रिया अन्तर्गत भएको बताए।
‘हामी राजनीति गर्दैछौं । विभिन्न भेटहरू भइरहन्छन्। म प्रतिप्रश्न गर्छु– कांग्रेस र माओवादी सत्ता साझेदार हुँदा मैले ओलीजीलाई भेटेको थिए । त्यतिबेला किन प्रश्न उठेन?’ कोइरालाले भने, ‘त्योबेला पनि छलफल नै भएको थियो । अहिले पनि राजनीतिक छलफल नै भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिन ।’







