काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ मा निर्माण हुने यस आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने भएको छ।
साउन ११ गते आइतबार आयोजना प्रवर्द्धक मन्दाकिनी हाइड्रोपावर र एनएमबी बैंकबीच औपचारिक रुपमा ऋण लगानीसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका अध्यक्ष सरदकुमार दाहालले हस्ताक्षर गरेका छन्।
आयोजनाको कुल लागत लगभग ६५ करोड रुपैयाँ रहेको छ, जसमा ७० प्रतिशत अर्थात् ४५ करोड ५० लाख रुपैयाँ बैंकबाट ऋणमार्फत लगानी हुनेछ भने बाँकी ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनीबाट जुटाइनेछ। कम्पनीले स्वपुँजी संकलनका लागि हकप्रद सेयर जारी गर्ने तयारी समेत गरेको छ।
कम्पनीका निर्देशक हरिप्रसाद भट्टले यसअघि निर्माण गरिएको ४ मेगावाट क्षमताको सार्दी जलविद्युत् आयोजना २०७४ मंसिर २३ गतेदेखि नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको जानकारी दिए। उनले माथिल्लो तटमा नयाँ आयोजना निर्माण गर्न लागिएको र ताप्लेजुङमा निर्माणाधीन १४५ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनामा समेत कम्पनीले लगानी गरेको उल्लेख गरे।
कार्यक्रममा एनएमबी बैंकका कार्यकारी अधिकृत गोविन्द घिमिरेले ऊर्जा क्षेत्रको विकासमा बैंकको निरन्तर योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यो क्षेत्रको प्रवर्द्धनमा लगानी र सहयोग बढाउने प्रतिबद्धता जनाए।
त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र वडा अध्यक्ष सरोज दाहालले आयोजनाको निर्माण कार्यमा स्थानीय तहबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने आश्वासन दिए। आयोजनालाई निर्धारित दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ।






