चितवन । सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् ।
चितवनको विद्युत आपूर्तिको अवस्था बुझ्न चितवन आएका शाक्य आजै जनकपुर जाने र भोलि मधेश प्रदेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालय प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले सरकारको बोरिङ विस्तारको निर्णयसँगै विद्युत आपूर्तिको सम्भाव्यता अध्ययन गर्न आफैं फिल्डमा खटिएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेशमा तत्कालीन सिंचाइको समस्या समाधान गर्न ५०० वटा डीप बोरिङ जडान गर्ने घोषणा गरेका थिए।
शाक्यका अनुसार बोरिङका लागि कम्तीमा १० मेगावाट विद्युत आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापन र आपूर्तिको रणनीति बनाउन सम्बन्धित जिल्लाका प्रमुखहरूसँग छलफल हुनेछ।
छलफलमा सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत मधेशका जिल्लाका विद्युत प्राधिकरण प्रमुखको उपस्थिति रहनेछ।
सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउने क्रममा आवश्यक विद्युत आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको तर्फबाट आवश्यक पूर्वाधार निर्माण र सुधारका विषयमा चाँडै कार्ययोजना तय गरिने शाक्यले जानकारी दिए।






