काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानाले डिजिटल प्रविधिले नयाँ-नयाँ किसिमका जोखिम उत्पन्न गरेको बताएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रविधिले बैंकिङ क्षेत्रलाई आधुनिक र सहज बनाए पनि यसले जोखिम निम्त्याएको भन्दै यस क्षेत्रको भविष्य सुरक्षित गर्न जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने बताईन् । उनले भनिन्, “पहिले कुनै बैंकमा समस्या आउँदा ग्राहकहरू लाइनमा बसेर पैसा झिक्थे, तर अहिले मोबाइलबाटै ठूला रकम झिक्न सकिने भएकाले तरलताको जोखिम बढेको छ ।”
डिजिटल बैंकिङको विस्तारले भुक्तानी प्रणालीमा क्रान्ति ल्याएको स्वीकार गर्दै उनले साइबर सुरक्षाको जोखिमसमेत बढेको उल्लेख गरिन् । यस जोखिमको व्यवस्थापनका लागि राष्ट्र बैंकले २०७५ सालमा भुक्तानी प्रणाली विभाग स्थापना गरेको जिकिर गरिन् ।
केही वर्षअघि अस्वस्थ प्रतिस्पर्धाले बैंकहरू मर्जरमा जान बाध्य पारिएको स्मरण गर्दै उनले बैंकहरूलाई तत्काल लाइसेन्स दिन नसकिने बताइन् । उनले भनिन्, -‘राष्ट्र बैंकको अध्ययनले १५ देखि १८ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको छ । आधारबिनै नयाँ बैंक खोल्ने र फेरि मर्जरमा लैजाने नीतिगत अस्थिरताले कसैलाई हुँदैन।’
उनले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन, संस्थागत सुशासन र व्यावसायिक संस्कृतिको विकास आवश्यक रहेको बताइन् ।






