काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्दती निक्षेप राख्ने भएको छ।
केन्द्रीय बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई तोकिएको ब्याजदरसहित मङ्गलबारसम्म आवेदन दिन आह्वान गरेको हो।
१ अर्बमध्ये ८० करोड वाणिज्य बैंक, १५ करोड राष्ट्रियस्तरको विकास बैंक र ५ करोड राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा निक्षेप गरिनेछ।
त्रैमासिक ब्याज भुक्तानीको व्यवस्था गरिएको उक्त निक्षेप लिन चाहने संस्थाले केन्द्रीय बैंकको तोकिएका सर्तहरू पूरा गर्नुपर्नेछ।
सर्तअनुसार, बैंक वा वित्तीय संस्था कम्तीमा २ वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पूँजीकोष सीमा पुगेको, कुल खराब कर्जा ८ प्रतिशत र खुद खराब कर्जा ३ प्रतिशतभन्दा कम हुनु पर्नेछ।
राष्ट्र बैंकले निक्षेप व्यवस्थापनमार्फत वित्तीय प्रणालीमा तरलता प्रवाहको सन्तुलन कायम राख्ने उद्देश्य लिएको जनाएको छ।






