काठमाडौं । महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे हरेक पटक पाँच सय जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाले बताएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।
हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक ऐनअनुसार अब काठमाडौँ महानगर क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे हरेक पटक ५ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार जनगुनासो अत्यधिक बढेकोले यो निर्णय गरिएको हो ।
पाण्डेले भने, ‘सार्वजनिक स्थलमा धूम्रपान निषेध गरिएको भए पनि उल्लङ्घन भइरहेको थियो। हटलाइनमा बारम्बार उजुरी आएकोले अब प्रत्येक उल्लङ्घनमा ५ सय रुपैयाँ जरिवाना हुनेछ।’
निजी सम्पत्तिबाहेकका सबै स्थलमा धूम्रपान निषेध गरिएको छ।
पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका मोटरसाईकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ ।
सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जिप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिनेछ ।
मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिँदैछ । सबै किसिमका ठूला सवारी साधन बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ ।
प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्नेछ ।
पर्चा, पम्प्लेट, पोस्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार सामग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्वीकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ ।
सार्वजनिक स्थलमा गेट तथा स्वागत द्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्याएमा पाँच सयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।
महानगरले जनस्वास्थ्य र नगर सौन्दर्यलाई प्राथमिकतामा राख्दै यस्ता व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने बताएको छ ।






