काठमाडौं । यौनकाण्डमा मुछिएका एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई सिनियर मेनेजरमा बढुवा गर्ने तयारी गरिएको छ। २०८२ साल साउन २ गते एक आन्तरिक सर्कुलर निकालेर बैंकले दिपेन कार्कीसहित अन्य २ जनालाई बढुवा गर्न लागेको हो ।
पटक- पटक यौन दुर्व्यवहारमा मुछिएका कार्कीलाई सीइओ रोशन कुमार न्यौपानेको सिफारिसमा बैंक संचालक समितिले नै आन्तरिक बढुवा गर्ने तयारी गरेपछि बैंक व्यवस्थापनभित्र व्यापक असन्तुष्टि देखिएको छ। यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा मुछिएका व्यक्तिलाई कारबाही गर्नुको सट्टा आशिर्वाद स्वरूप पदोन्नति दिएर सिनियर मेनेजर बनाइएको भन्दै बैंकमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरु हतोत्साहि बनेका छन्।
कार्की सीइओ रोशन कुमार न्यौपानेका दाहिने हात हुन्। उनका हरेका राम्रा नराम्रा काममा समेत कार्कीले सघाउँदै आएका छन्। सोहि कारण पनि गुन तिर्न कार्कीलाई २ बर्षमै बढुवा गर्न लागिएको बुझिएको छ।
कार्कीले एक महिलामाथि यौन दुर्व्यवहार गरेको भन्दै परेको जाहेरीका आधारमा प्रहरी हिरासतमा पुगेका कार्कीलाई सीइओ न्यौपानेकै राजनीतिक दवावमा छुटाईएको थियो।
उक्त घटनालाई नजिकबाट नियालेकी एक महिला कर्मचारीले सीईओ न्यौपाने बैंकमा रहँदासम्म कार्कीमाथि कुनै पनि कारबाही नहुने गुनासो गर्छिन्। उनी भन्छिन्,-‘पटक-पटक यौन दुर्व्यवहारमा मुछिएका कार्कीलाई सिनियरबाटै संरक्षण हुनु र प्रोत्साहन गरिनु भनेको हामीमाथिको अपमान हो।’
सीइओको नजिक हुँदैमा जे मन लाग्यो त्यहि गर्न पाइन्छ भन्ने त हुँदैन होला नि ? भन्ने प्रश्न गर्दै उनले कार्कीमाथि कारबाही नहुनुलाई ‘नैतिकताको मलामी गएर कर्मठ,इमान्दार एवं मेहनती कर्मचारीलाई झापड हानिएको’ बताएकी छन्।
एनआईसी एशिया बैंकमा हाल ३२०० भन्दा बढी कर्मचारीहरु छन्। ति मध्ये आर्थिक बर्ष‘८०/८१’को बार्षिक मूल्यांकनमा सीइओ न्यौपानेले ३ जना कर्मचारीको मात्र अब्बल ( Excellent) भनि मुल्यांकन प्रतिवेदन निकालेका छन्। सोहि अधार देखाएर उनले कार्कीसहित २ जनाको आन्तरिक बढुवा गर्दैछन्।

यति ठूलो बैंक, यतिका धेरै कर्मचारी भएको कम्पनीमा बाँकी हजारौँ कर्मचारी के खेत जोत्न बसेका थिए र ? भन्दै इन्टरनल अडिटमै काम गर्ने एक कर्मचारीले प्रश्न गरेका छन्। उनी भन्छन्, – ‘सिनियर हाकिम, जसको विभागमा बसेर कर्मचारीले दिनरात खटेर काम गरे,—उनीहरूकै मुल्यांकन ‘गुड’ वाक्कै लाग्दो धूर्तता ! हुनत न्यौपानेले यसमा पनि इगो साँधेका हुन्। त्यसो हो भने उनले दिनको एक लाख तलब खान्छन, त्यो अरुलाइ नि दिनुनी।’
दोस्रो कार्यकालका लागि पनि आँफै सीइओ पछि बैंक झनै धरासायी बनाएपछि न्यौपानेले बैंक छोड्ने भन्दै संचालक समितिलाई राजिनामा बुझाइसकेका छन्। तर, बिगारेको बैंकको वित्तीय अवस्था सुधार्न भनेपछि उनी हाल जसो तसो दिन काट्ने मात्रै काम गर्न थालेपछि न्यौपानेको कार्यसम्पादन मुल्यांकन पनि गुड मात्रै आयो। न्यौपानेको कार्यसम्पादन मुल्यांकन प्रतिवेदन पनि ‘गुड’ मात्रै आएकाले ‘आफ्नै रेटिङ्ग गुड आएपछि अरुलाइ किन त्यो भन्दा माथि दिनु’ भन्ने लागेर जुनियर कर्मचारीसँग प्रतिसोध साँधेको उनको भनाई छ। उनले सीइओको उक्त कार्यलाई नेतृत्वको ‘धूर्ततापूर्ण कार्य’ को संज्ञा दिएका छन्।
त्यस्तै, बैंकमा काम गरेको आठ बर्ष पुग्दापनि आफ्नो कामको मुल्यांकन नगरेको अर्का कर्माचारीको गुनासो छ। हाकिमसँग निकट नभएको र राजनीतिक रुपमा पनि पहुँच नभएकै कारण वर्षौदेखि आँफू पिल्सिएर असिस्टेन्टमै काम गर्नुपरेको उनी बताउँछन्। उनी भन्छन् ,- सीनियर हाकिम या बोर्डसँग नजिकिएपछि ज्ञानको उज्यालो एकाएक जाग्ने रहेछ। बोर्डमा फाइल देखाएकै भरमा काम गरेको भन्ने ठानिँदो रहेछ। काम त आखिर तलका कर्मचारीबाट गराइएको हो तर, श्रेय भने हाकिमको नाममा मात्रै किन आउछ।’
हाकिम भनिएकाहरु आँफैलाई मात्र सुपरम्यान ठान्ने रहेछन् भन्दै उनले थपे -‘काम अरूलाई गराउने, ओटी नदिई डढाउने, अनि रिजल्ट आफ्नो नाममा चढाउने।’
कार्कीलाई झैँ अडिट हेड कमल खडका, जोखिम व्यवस्थापन प्रमुख दिपक ढकाललाई पनि बैंकले फास्ट ट्रयाकमा बढुवा गर्न लागेको छ। यी तिनै जना न्यौपानेका विश्वासपात्र हुन्। यीनीहरु २–३ वर्षमै प्रमोशन खाने कर्मचारीमा पर्छन्। तर, दश बर्षभन्दा बढी समयदेखि बढुवा कुरेर बसिरहेका तर हाकिमको छायाँमा पर्न नसकेका दर्जनौँ कर्मचारी बैंकभित्र छन्। बैंकमा योग्यता क्षमताभन्दा आशिर्वादले काम गर्ने कर्मचारीहरु गुनासो गर्छन्।
यी दुवै कर्मचारी खड्का र ढकालले कर्मचारीलाई ‘ओभरटाइम दिनु पर्दैन’, जति बेलासम्म भन्यो उति समय काम गरिहाल्छन् नि भन्दै न्यौपानेलाई ब्रिफिङ्ग गर्दै अन्य कर्मचारीलाई दास झैँ गरी रातभर काम गराएको ‘ओटी’ समेत रोक्ने गरेको गुनासो अन्य कर्मचारीको छ।
बैंकमा सीइओका सचिवालयमा रहेका सुमन थपलियालाई दुई बर्ष नपुग्दै पदोन्नति गरियो तर, पदोन्नति गरिसकेपछि दरबन्दी नै परिवर्तन गरी बाँकी सबै कर्मचारीको बाटो छेक्ने काम भयो।जसका कारण पदोन्नति हुनुपर्ने कयौं कर्मचारीले जागिर छोडिसकेका छन् ।
यस बिषयमा थप बुझ्न हामीले बैंकका सूचना अधिकारी अर्जुनराज खनियालाई सम्पर्क गर्यौ। तर , उनले प्रतिक्रिया दिन चाहेनन् ।







