काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो ।
राष्ट्र बैंकका अनुसार मार्गदर्शन कार्यान्वयनसँगै अनुमति प्राप्त संस्थाहरूको मुनाफा वितरण प्रणाली थप प्रभावकारी बन्नेछ, पुनः लगानीको वातावरण विस्तार हुनेछ र जोखिम वहन गर्ने क्षमता वृद्धि भई समग्र भुक्तानी प्रणाली सुदृढ हुने अपेक्षा गरिएको छ।
लाभांश नीतिमा मुख्य गरी नियामकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण समावेश गर्नुपर्नेछ । यस्तै, नगद लाभांश र शेयर लाभांश वितरणसम्बन्धी नीति समावेश गर्नुपर्नेछ । अनुमतिपत्र प्राप्त संस्थाले कम्तीमा जोखिम बहन कोष र जगेडा कोषको कोषहरूको व्यवस्था गर्नुपर्नेछ ।
संस्थाले यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउने सम्बन्धमा उल्लेख गर्नुपर्नेछ । जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिनेछ । कोषहरूबाट भएको खर्चको विवरण यस बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ ।
मार्गदर्शनमा लाभांश वितरणका पूर्वशर्तहरु पनि राखिएको छ । जसमा लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुनुपर्नेछ । यसका लागि अनुमति पत्र प्राप्त संस्थाले लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको र संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने लगायतका पूर्वशर्तहरु पालना गर्नुपर्नेछ ।
शेयर प्रिमियम एवं ‘बार्गेन पर्चेज गेन’बाट नगद लाभांश घोषणा गर्न नपाइने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरु ‘लोन कन्भेन्स’ले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको र राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैर स्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको लगायत पूर्वशर्तहरु पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।







