निकम्मा राष्ट्र बैंक: अपराध लुकाउँछन्, सूचना बेच्छन् कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय साख गुमाउँदै गएको छ। बैंक तथा वित्तीय संस्थाको नियाकम निकायको सँस्थागत सुशासन कमजोर हुँदा यसको प्रत्यक्ष असर समग्र बैंकिङ क्षेत्रमा देखिएको छ।

विद्यमान ऐन, कानूनहरूको परिधिभित्र रही  बैंक तथा वित्तीय संस्थाको काम कारबाहीलाई निर्देशित गरी निक्षेपकर्ता तथा सम्बद्ध सरोकारवालाहरूको हित संरक्षण तथा वित्तीय क्षेत्र स्थायित्व कायम हुने गरी आवश्यक निर्देशनहरू जारी गर्ने  तथा जारी गरिएका मापदण्ड, मार्गदर्शन तथा निर्देशनहरूको पालना भए नभएको यकिन गर्ने र कारबाही गर्ने राष्ट्र बैंकको प्रमुख दायित्व हो ।

तर, बैंक तथा वित्तीय सस्थालाई अनुशासन सिकाउनुपर्ने नियामक निकायका कर्मचारी आँफै मर्यादाभन्दा बाहिर गएकापछि बैंकिङ क्षेत्रको सुशासनको स्तर दिनानुदिन खस्किदै गएको छ । यसको मुख्य दोषी नेपाल राष्ट्र बैंकभित्रको भ्रष्ट प्रवृत्ति एवं गैरजिम्मेवार नेतृत्व हुन् ।

त्यस्तै, राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरीवेक्षकीय निकाय हो । बैंकिङ तथा वित्तीय प्रणालीको विकास एवं स्थायित्व कायम गर्नुका साथै बैंकिङ तथा वित्तीय क्षेत्रको निरीक्षण, सुपरिवेक्षण, अनुगमन तथा नियमन गर्ने महत्वपूर्ण निकायक रुपमा राष्ट्र बैंकको भूमिका रहन्छ।

तर, नियम र परिधिभन्दा बाहिर गएर व्यक्तिगत लाभ लिन उद्दत कर्मचारीका कारण राष्ट्र बैंकले आफ्नो गरिमा गुमाउँदै गएको छ। नियामक निकायले नियमित रुपमा गर्ने निगरानी र नियमनमा गम्भीर त्रुटी देखिएको छ।

वित्तीय क्षेत्रमा भइरहेका अनियमितता, सिण्डिकेट र संस्थागत भ्रष्टाचारका बिषय औल्याउँदै आएको भए पनि दवाव र प्रभावमा परी दोषीमाथि कारबाही गर्ने हिम्मत नगर्दा वित्तीय अराजकतासँगै अपराध झनै मौलाएको देखिन्छ। वित्तीय क्षेत्रका समस्या समयमै पहिचान गरी यसलाई नियन्त्रण गर्न नसक्नुका पछाडि राजनीतिक दलले नियुक्त गरेका कार्यकर्ता ( कर्मचारी) र कर्मचारीको भ्रष्ट प्रवृति नै हो।

सूचना बेच्छन् राष्ट्र बैंकका कर्मचारी:

बैंक तथा वित्तीय क्षेत्रका अपराधका सम्बन्धमा राष्ट्र बैंकमा दिनहुँ सयौँ गुनासा तथा उजुरी पुग्ने गर्दछन्। ग्राहका उजुरी दर्ता गर्न पनि कर्मचारीहरुले आनाकानी गर्ने गरेका छन्। संयोगले उजुरी दर्ता भैहाल्यो भने पनि उक्त उजुरीमाथि बर्षौंसम्म अनुसन्धान नै हुँदैन। त्यसमाथि कर्मचारीले नै जसका विरुद्दमा उजुरी गरिएको हो उसैलाई अग्रिम जानकारी दिएर सचेत गराउने र आर्थिक लाभ लिने गरेका छन्। गम्भीर प्रकृतिका समस्या तथा उजुरीहरूलाई समेत गुप्त राखेर सूचना सम्बन्धित लाई बेच्दै आएका छन्। यस्ता गतिविधिले नियामकको निष्पक्षता र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ।

यस बिषय राष्ट्र बैंककी एक उच्च व्यवास्थापनकी कर्मचारी आँफैले बताएकी छन्। उनले बैंकमा आउने उजुरी कर्मचारीले नै लुकाउने गरेको  भन्दै भनेकी छन्,- ‘त्यो उजुरी त …ले रिटायर्ड हुँदा आँफैसँग लागेका छन्, यहाँ कसरी भेटिन्छ?’

केहि दिन अघि एक वाणिज्य बैंककै संचालकले आफ्नो नाममा कम्पनी खडा गरी बैंकबाट करोडौं रुपैयाँ लिंदै आएको बिषयमाथि छानविन गर्न भन्दै बैंककै एक शेयरधनीले सुपरिवेक्षण विभाग दरवारमार्मागमा उजुरी गरेका थिए। भोलिपल्टै उक्त उजुरीबारे बैंकका सिनियर देखि जुनियरसम्मलाई सूचना पुर्याइयो, कम्पनी परिवर्तन गर्न भनियो तर उक्त उजुरीमाथि सुनुवाई भने भएन।

त्यसैगरी, कार्यकारी निर्देशक भएकै भोलिपल्ट बैंक सुपरिवेक्षणमा बस्ने आशिर्वाद पाएका दिर्घ रावललाई पनि उक्त बिषयको जानकारी गराउँदै  अनुसन्धानबारे जानकारी मागिएको खबर ‘फास्ट ट्रयाक’ मा बैंक पुग्यो। सम्बन्धित ठाउँबाट  प्रतिक्रिया आएपछि प्रमाणित भयो – राष्ट्र बैंकका कर्मचारी अपराध लुकाउँछन् , सूचना बेच्छन्।

रावल भने यस बिषयलाई आँफुले स्वीकार नगर्ने बताउँछन्।

बैंक भित्र रहेर अख्तियारको दुरुपयोग गर्दै श्रीमतीको नाममा कम्पनी खोली बैंकबाट रकम निकाल्दै आएको बिषयमाथि त रावलले राजनीतिक दवावमा छानविन नै नगर्न  कर्मचारीमाथि दवाव दिएको विभागकै कर्मचारीहरुले गुनासो गरेका छन्।

त्यसो त बैंक वित्तीय संस्थाहरुले पनि महत्वपूर्ण एवं अति गोप्य जानकारी राष्ट्र बैंकका कर्मचारीहरुले चुहाउने गरेको र आँफुहरुले आप्रत्यासित नोक्सानी व्यहोर्नु परेको आरोप लगाउँदै आएका छन्।

औचित्यहीन नियामक निकाय:

वित्तीय प्रणाली ध्वस्त पार्न राष्ट्र बैंककै कर्मचारी मतियार बनेका छन्। अपराध र अपराधीमाथि कारबाही गर्नुभन्दा मौकाको फाइदा उठाउँदै लाभ लिने र उन्मुक्ति दिने चलन राष्ट्र बैंकमा हिजो पनि थियो आज पनि छ। संचालनमा रहेका अधिकांस बैंकहरुमा बैंकर तथा ऋणी पनि आँफै बनेका अध्यक्ष हावी छन् भने केहिमा सीईओ तथा उनकै निकट सीमित कर्मचारी समूहले बैंकका प्रमुख निर्णयहरू नियन्त्रणमा राखी निजी कम्पनी झैं चलाउँदै आएका छन्। विशेष गरी संस्थागत हितभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिइने, अनियमित कर्जा वितरण, आन्तरिक प्रक्रियाको उल्लंघनजस्ता घटनाले पब्लिकको सम्पत्तिको चरम दुरुपयोग भइरहेको अवस्थामा समेत राष्ट्र बैंक टुलुटुलु हेरिरहेको छ।

नियमित सुपरिवेक्षणमा जाने कर्मचारीले व्यक्तिगत लाभ लिएर उक्त अवस्थामाथि आँखा चिम्लिन्दा लगानीकर्ताहरुको हात बर्षौंदेखि रित्तै छ। नियाकम निकायका कर्मचारीलाई प्रभावमा पार्दै बैंकहरु वास्तविकता लुकाउँदै अपराध छोप्न अपराधमाथि अपराध गरिरहेका छन्। यसको दिर्घकालिन असर, बैंकहरुको अवस्था बाहिर सामन्य देखिए पनि भित्री रुपमा निकै जटिल छ, तर राष्ट्र बैंकलाई कुनै चासो छैन।

बैंकहरूले तालिमको नाममा ठूलो रकम खर्च गरिरहेका छन्। ती तालिमले नत व्यवहारिक परिणाम दिएको छ न त सस्थागत उपलब्धी। बैंकहरुले तालिमका नाममा देखाएको उक्त रकम गुटगत लाभमा प्रयोग भएको पाईएको छ। यसबारे राष्ट्र बैंक पूर्ण जानकार छ। तर, अपराध देखाउन बार्गेनिङ गर्दै हरेक बैंकमा आफ्ना श्रीमतीदेखि नातागोता, आफन्त, दलका कार्यकर्ता भर्ती गर्ने भ्रष्ट कर्मचारीको र्याले प्रवृतिले राष्ट्र बैंकको आवश्यकता र औचित्यमाथि नै प्रश्न खडा भएको छ।

राष्ट्र बैंकले समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा बार्गेनिङ र मिलापत्रलाई प्राथमिकता दिएको देखिन्छ। यसमा निकै ठुलो आर्थिक चलखेल हुने गरेका प्रसस्त प्रमाण छन्। राष्ट्र बैंकको सुपरभिजन टोलीमा बैंकहरूमा समस्या भेटेपछि कारबाही गर्नुको सट्टा बार्गेनिङ गर्ने, सौदाबाजी गरेर मिलापत्रमा समाधान गर्ने प्रवृत्ति हावी भएकोदेखिन्छ । यस्तो प्रवृत्तिले नियामकको विश्वसनीयतालाई झनै कमजोर बनाएको छ।

बैंकहरूको सम्पत्ति गुणस्तरमा निरन्तर गिरावट: रमिते राष्ट्र बैंक

वित्तीय प्रणालीमा विविध समस्या छन्। जसमध्य देशभरका बैंकहरूको सम्पत्ति गुणस्तर (Asset Quality) अत्यन्तै कमजोर बन्दै गएको छ। राष्ट्र बैंकले नै सार्वजनिक गरेका तथ्यांकहरुले पनि यस बिषयलाई स्पष्ट पारेको छ। तर, यस सम्बन्धमा नियामक भनिएको राष्ट्र बैंकले समाधानका लागि चासो देखाएको छैन, नत कुनै प्रभावकारी कदम चाल्न सकेको छ। खराब कर्जाले बैंकहरु थालिएका छन् तर राष्ट्र बैंकले उल्टै कर्जाको पुनर्तालिकीकरण नीति ल्याएर यसको दवाव अझै बढाएको छ। लोकप्रियताका लागि राष्ट्र बैंकले अनेक नीति ल्याए पनि यसले दिर्घकालिन रुपमा पार्ने असर सकारात्मक हुने अपेक्षा गर्न सकिने आवस्था छैन। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संवेदनशील सूचकहरूकै वेवास्ता गर्दै आएको देखिन्छ।

 

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *