काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र एसियन ब्याट्रिज लिमिटेडबीच धितोपत्र सार्वजनिक निष्कासनका निम्ति धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
नेपाली बजारमा पूँजीे विकासका निम्ति नवीनतम प्रकृतिका सेवा प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल लिमिटेडले देशको औद्योेगिक तथा ऊर्जा आत्मनिर्भरता क्षेत्रलाई प्रतिनिधित्व गर्ने एसियन ब्याट्रिज लिमिटेडसँग सेयर सार्वजनिक निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्झौता गरेको हो ।
३२ असारमा भएको सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमेश्वर पन्त र निष्कासक कम्पनी एसियन ब्याट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष सुरेश लोहनीले हस्ताक्षर गरेका छन् ।
सन् २०१३ देखि व्यावसायिक उत्पादन प्रारम्भ गरेको एसियन ब्याट्रीज लिमिटेडको उद्योग तथा रजिष्टर्ड कार्यालय मोरङ्ग जिल्ला बुढीगंगा गाँउपालिका–४ मा रहेको छ भने हाल सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीको जारी पूँजी रु. ६५ करोड रहेकोमा कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात रु. १३ करोड रकम बराबरको १३ लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो ।
नेपालको सूचना प्रविधि, कृषि तथा रियल इस्टेट क्षेत्रमा संलग्न प्रभावशाली व्यक्तिहरूद्वारा स्थापना गरिएको एसियन ब्याट्रीज लिमिटेडले छोटो समयमै गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्ने भरपर्दो नेपाली उत्पादकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । कम्पनीले नेपालमा हाल सवारीसाधन, विद्युतीय रिक्सा स्कुटर, मोटरसाइकल तथा सोलारमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ । यस कम्पनीले विभिन्न किसिमको ब्याट्रीहरु प्रसोद्धन गरि लिड, अक्साइड उत्पादन गरी आन्तरिक बजारमा बिक्रि वितरण गर्दै आएको छ ।
कम्पनीले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन गर्ने र प्रयोग भई सकेको ब्याट्रीको पुन प्रसोद्दन गर्ने साथै नेपालकै सबैभन्दा विश्वासिलो र प्राथमिक पावर सोलुसन ब्रान्ड बन्ने उद्देश्य राखेको छ । यसले ग्राहकलाई गुणस्तरीय, भरपर्दो, वारेन्टीसहितका उत्पादन र छिटो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
ललितपुरमा रहेको सम्पर्क कार्यालय तथा देशका विभिन्न प्रमुख स्थानहरूमा रहेका १० वटा शाखामार्फत कम्पनीले सेवा तथा उत्पादनको सहज पहुँच सुनिश्चित गरेको छ ।






