काठमाडौँ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका करिब ८ हजार ऋणीहरूको बैंक खाता र अचल सम्पत्ति रोक्का गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार हालसम्म २३ सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ। तीमध्ये ५ सहकारी संस्थाको व्यवस्थापन सकिएको छ भने बाँकी १८ संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया जारी छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ६१ हजार ९४ दाबी गर्नेमध्ये करिब ८ हजार ९८८ सदस्यलाई बचत रकम फिर्ता गरिसकेको छ। कुल २९ करोड रुपैयाँ ऋण असुल भइसकेको छ भने तीन अर्ब ७१ करोड रुपैयाँ दायित्व फरफारक गरिएको छ।
सहकारी विभागले ४० सहकारी संघ–संस्थाको सघन अनुगमन गरी कमजोरी सुधार्न निर्देशन दिएको छ। आर्थिक वर्ष २०७८/७९ देखि कोपोसिम प्रणालीमार्फत हालसम्म १९ हजार १८९ सहकारी संस्थाहरू आबद्ध भएका छन्।






