काठमाडाैं। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी मानिने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वर्षमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रु १० अर्ब (१०,००,००,००,०००) प्रथम बीमा शुल्क आर्जन गरेको छ। यो रेकर्डसँगै कम्पनीले जीवन बीमा क्षेत्रमै सर्वाधिक बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनीको हैसियत बनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस ऐतिहासिक उपलब्धिमा योगदान पुर्याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, बीमितहरू, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकायहरू र अन्य सम्बद्ध पक्षप्रति धन्यवाद ज्ञापन गर्दै पराजुलीले यो सफलता नेपाली बीमा क्षेत्रकै माइलस्टोन भएको बताए।
उनले कम्पनी आगामी दिनमा अझ प्रविधिमैत्री प्रणाली अपनाउँदै, ग्राहकको आवश्यकता अनुसार नवीन बीमा योजनाहरू ल्याउने, लगानीको प्रतिफल बढाउन विविधिकरणमा केन्द्रित हुने र कर्मचारी तथा अभिकर्ताहरूको क्षमता अभिवृद्धिमा पनि निरन्तर ध्यान दिने जानकारी दिए।
नेपाल लाइफले जीवन बीमा क्षेत्रको वृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। वर्तमान बजार परिस्थितिमा पनि बीमालेख बिक्री, सेवा प्रवाह, ग्राहक सन्तुष्टि र वित्तीय मजबूतीका आधारमा कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको रु १० अर्ब प्रथम बीमा शुल्क आर्जनले समग्र बीमा बजारलाई दिगो विकासतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।






