बागलुङ नगरपालिकाका १६८ जना छोरीलाई मुद्दती खाता उपहार

काठमाडौं । बागलुङ नगरपालिकाले छोरीको सम्मान र भविष्य सुनिश्चित गर्न थालेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोलिएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सञ्चालनमा ल्याएको यो योजनाअनुसार नगरभित्र जन्मिएका प्रत्येक छोरीको नाममा रु ५ हजारका दरले मुद्दती खाता खोलिएको हो। अहिलेसम्म १४ वटै वडामा जन्मिएका छोरीहरूको खातामा कुल रु ८ लाख ४० हजार रकम जम्मा भइसकेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

प्रमुख श्रेष्ठका अनुसार १३औं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमअन्तर्गत यो योजना ल्याइएको हो। छोरी जन्माउने परिवारलाई प्रोत्साहन गर्न, परिवारमा बचतको बानी बसाल्न र छोरीको दीर्घकालीन आर्थिक भविष्य सुनिश्चित गर्न यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको उनले बताए।

छोरीको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा २० वर्षे मुद्दती खाता खोलिएको छ। खातामा नगरपालिकाले जम्मा गरेको रकम २० वर्ष पुग्दासम्म झिक्न नपाइने व्यवस्था गरिएको छ। यदि परिवारले चाहेमा सो खातामा थप रकम राख्न सकिने पनि कार्यविधिमा उल्लेख छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलका अनुसार ‘नगरकी छोरी’ कार्यक्रम छोरीको संरक्षण, बालविवाहको अन्त्य, विभेदको अन्त्य, र शिक्षित तथा स्वावलम्बी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको हो।

कार्यक्रमको पहिलो लाभार्थीका रूपमा बागलुङ नगरपालिका–२ श्रीनगर टोल निवासी दुर्गाबहादुर क्षेत्री र मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलिएको थियो। नगर प्रमुख श्रेष्ठका अनुसार यस कार्यक्रमलाई आगामी वर्षहरूमा थप प्रभावकारी बनाउँदै लैजाने योजना नगरपालिकाले बनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *