काठमाडौं । स्पेनको सेभिलामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनका नाममा असम्बन्धित व्यक्तिहरुलाई सहभागी गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समिति प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा गठन गरिएको हो ।
समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहित ६ जना सदस्य रहेका छन् ।
ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।
यसअघि गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा बसेको उच्चस्तरीय बैठकले छानबिन प्रक्रिया प्रहरीमार्फत अघि बढाउने निर्णय गरेको थियो । उक्त बैठकमा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललगायत सहभागी थिए ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार सम्मेलनमा सहभागी बनाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरुलाई स्पेन लैजाने कार्यमा संलग्न गिरोह सक्रिय भएको आशंका छ । ती व्यक्तिहरुलाई भ्रमण भिसामा लैजाने र कार्यक्रमको बहानामा उतै बस्ने व्यवस्था मिलाइएको प्रारम्भिक विवरणबाट देखिएको छ ।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेको उडानमार्फत केही व्यक्तिहरु मड्रिड पुगेका थिए । उनीहरुलाई विभिन्न गैरसरकारी संस्थाको नाममा सम्मेलनमा सहभागिताका लागि दर्ता गरिएको थियो। दिल्लीस्थित स्पेनको दूतावासबाट उनीहरुले निम्तो देखाएर भिसा प्राप्त गरेका थिए ।
यसबारे विस्तृत जाँच गर्दा कम्तीमा ७ जना सहभागी सम्मेलनमा नगई उतै बसिरहेको प्रमाण भेटिएको छ । त्यस्तै, कतिपयको शंकास्पद पृष्ठभूमिका कारण ५५ जनाको नाम एयरलाइन्समार्फत पठाई रोक्का गर्नसमेत निर्देशन दिइएको थियो ।







