काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि संसदमा पुनः कडा आलोचना गर्दै आफैं एक्लैले रास्वपाका २० जना सांसदभन्दा बढी कल्याणकारी काम गरेको दाबी गरेका छन् ।
आइतबार मात्रै रास्वपाकाविरुद्ध संसदमा बोलका उनले सोमबारको बैठकमा पनि विशेष समयमा बोल्न क्रममा रास्वपा केन्द्रित टिप्पणी गरेका हुन् ।
उनले भने, ‘इंगित गरेरै भन्छु नयाँ मित्रहरु, म पुरानो पार्टीको, तपाई २० जना साथीहरुको तुलनामा एक्लै ठुलो कल्याणकारी काममा तल्लिन नयाँ प्रतिनिधि हु । म पनि नयाँ हु । तपाई र म मा मात्र मिल्ने विषय छ भने हामी नयाँ हौ ।’
काग्रेस सांसद बजगाईले नेपाल हस्तिनापुर नभएको बताउँदै रास्वपाका सांसदलाई धृतराष्ट्र भगवान मान्नुहुन्छ कि जैविक पिता प्रमाधिपति हुन् भन्दै प्रश्न गरेका छन् ।
सांसद बजगाईंले रास्वपाका अध्यक्ष रवि लामिछाने पुर्पक्षमा थुनामा रहेकै अवस्थामा दलको नेतृत्व गरिरहनु असंवैधानिक र गैरजिम्मेवार भएको बताए। ‘सहकारी ठगीमा पुर्पक्षमा थुनामा रहेका नेता अझै अध्यक्ष छन्। अदालतको अवहेलना गर्दै जनसभा र हस्ताक्षर अभियान चलाउनु लोकतान्त्रिक जिम्मेवारीको उपहास हो,’ उनले भने ।
बजगाईंले रास्वपाले अहिलेसम्म देश निर्माणका लागि कुनै स्पष्ट योजना नपेस गरेको आरोप लगाए। उनले भने, ‘हिजो सत्ता आरोहणका क्रममा आफ्नो परिवारका सदस्य थुन्ने षड्यन्त्रमा मात्रै रमाउनु भयो । अहिले पनि प्रोपगाण्डामै व्यस्त हुनुहुन्छ ।’
रास्वपाले प्रयोग गर्ने ‘पर्ख, २०८४ मा देखाउँछौं’ भन्ने भाषालाई बजगाईंले प्रतिशोधको शैली भन्दै आलोचना गरे। ‘यो प्रवृत्ति मिश्रको मुस्लिम ब्रदरहुडजस्तो चरमपन्थी व्यवहारको झल्को दिन्छ,’ भन्दै उनले लोकतान्त्रिक मूल्यमान्यतासँग मेल नखाने बताए ।






