काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष बन्न फर्जी अनुभवपत्र पेश गरेको आरोपमा ओझा निलम्बित भएका हुन् । उनको निलम्बनसँगै नेपाल सरकार मन्त्रिपरिषदले ओझा नियुक्त हुँदा पेश गरेको कागजात छानविन गर्ने निर्णय गरेको छ ।
सरकारले उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको हो । छानविन समिति गठन भए लगत्तै अध्यक्ष ओझा निलम्बनमा परेका छन् ।
बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगे पनि झूठो प्रमाण पेश गरेर नियुक्ति लिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि मन्त्री परिषदको सोमबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
बीमा ऐनको दफा १२ को उपदफा ३ बमोजिम अध्यक्ष वा कुनै सदस्यको हकमा सरकारले छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्मका लागि त्यस्तो व्यक्ति स्वतः निलम्बन हुने प्रावधान छ। सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।
ओझा निलम्बनमा परेपछि सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।






