११ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा झन्डै ५४ अर्ब, कुन बैंकले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालमा संचालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल ५३ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

जेठमसान्तसम्ममा गत आर्थिक वर्षको तुलनामा कुल नाफामा ४.९७ प्रतिशतको वृद्धि भएको छ। गत आर्थिक वर्ष सोहि अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

चालु आवको ११ महिनामा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। यस बैंकले जेठ मसान्तसम्ममा ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा यो नाफा १.१० प्रतिशतले बढेको हो । त्यस्तै, ग्लोबल आईएमइ बैंकले यस अवधिमा ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.५९ प्रतिशतले बढेको हो।

जेठ मसान्तसम्ममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २९.८३ प्रतिशतले बढेको छ।

एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ९० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा २८ प्रतिशत, नेपाल बैंकको १८५.२७ प्रतिशत र एनएमबि बैंकको ९.१८ प्रतिशतले बढ्दा प्राइम बैंकको भने १८.२९ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब २१ करोड २० लाख रुपैयाँ र सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा स्ट्यान्डर्ड चार्टर्ड र प्रभुको नाफा घटेको छ भने लक्ष्मी सनराइज र सिद्धार्थको बढेको छ।

त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड ५६ लाख रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सानिमा बैंकको नाफा बढ्दा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको घटेको छ।

समीक्षा अवधिसम्म नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड १४ लाख रुपैयाँ, हिमालयन बैंकले ९० करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ८२ करोड ५७ लाख रुपैयाँ र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *