काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
बिहीबार काठमाडौँको सोल्टी होटलमा आयोजित आयोजित कार्यक्रममा बोल्दै उनले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताए।
न्यायाधीशहरुको न्यायिक निर्णय, काम कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको बताए। पछिल्लो समय निष्ठा भए पनि व्यक्ति पाउन गाह्रो रहेको उनको भनाइ छ। उनले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा राखे।
उनले भने, ‘न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो। त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ। त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहँदैन। हाम्रा काम कारबाहीहरु, हाम्रा निर्णयहरु, हाम्रा भूमिकाहरु ठीक ठाउँमा प्रयोग हुनुपर्दछ। यस सम्बन्धमा निष्ठा नभएको मान्छेले गर्न थाल्यो भने कुरा अन्तै पर्छ। अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ। मैले हजारौँ मुद्दा फैसला गरे अथवा हाम्रो अदालतबाट भएका हजारौँ फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिइहाल्छन्, अरु ९९९ वटा मुद्दाको कुनै सरोकार नै छैन। त्यसका बाबजुद पनि मैले न्यायापालिकाको जिम्मा लिन्छु भनेको छु। लिन्छु पनि।’






