रसुवा बाढीः २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाटको आयोजना प्रभावित

काठमाडौं। मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले नेपालका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजना निर्माण प्रभावित भएका छन्।

स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाहरुमा भएको क्षति बारे जानकारी दिएको हो । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा बाढीले क्षति पु¥याएको छ ।

जसका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । जसमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३ बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।

देवीघाट, त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।

त्यस्तै निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १ हजार १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३ बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पु¥याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ । त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *