काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रकम ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ थपिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ थियो । यो रकम गत आवको सोही अवधिको तुलनामा ८.० प्रतिशतले बढी हो ।
चालु आवको जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो । २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत थियो ।






