चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा उपभोग्य क्षेत्रमा बैंकहरुको कर्जा प्रवाह अत्यधिक वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण उपभोग्य क्षेत्रमा धेरै गइरहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकको कर्जा प्रवाहको हिसाबले हेर्दा नेपालमा वस्तु उपभोग गर्ने क्रम, व्यक्तिगत घर निर्माण, गाडी खरिद, सुनचाँदीजस्ता वस्तुमा बैंकहरुले धेरै ऋण प्रवाह गरेको देखिएको छ। कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत कायम हुनुपर्नेमा २७ वटा वाणिज्य बैंकमा १८ वटा बैंकले सीमाभन्दा बढी कर्जा प्रभाव गरेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले वर्गीकरण गरेको १३ समूहमा उपभोग्य क्षेत्रको ऋण दोस्रो स्थानमा देखिएको छ । फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट थोक र खुद्रा बजारमा ९ खर्ब ५९ अर्ब रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ। उपभोग्य क्षेत्रमा ८ खर्ब ३० अर्ब रुपैयाँ प्रवाह भएको हो। यस्तो ऋण गत आर्थिक वर्ष यही अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ मात्रै थियो।
यस बढोत्तरी ४ सय ४५ प्रतिशतले रहेको देखिन्छ। यही प्रकारण ऋण असार मसान्तसम्ममा १ खर्ब ५२ अर्ब रुपैयाँ ऋण बजारमा थियो।फागुन मसान्तसम्ममा उपभोग्य क्षेत्रमा पनि व्यक्तिगत गाडी खरिद, शिक्षा सेवा, व्यक्तिगत आवास कर्जा १ करोड ५० लाखसम्मको, व्यक्तिगत ऋण ९५० लाखसम्मको सबैभन्दा धेरै छ। यसमा बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ६१ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको देखिएको हो। यसअनुसार सुनचाँदी क्षेत्रमा ५१ अर्ब रुपैयाँ प्रवाह भएको छ भने खाताको प्रयोग गरी लिएको ऋण ३८ अर्ब, धितो राखेर उपभोग्य क्षेत्रमा लिएको ऋण ७६ अर्ब, क्रेडिट कार्डमार्फत प्रवाह भएको ऋण ३ अर्ब छ।
चालू आर्थिक वर्ष २०७८/०७९ को आठ महिनामा कुल वस्तु आयात गत वर्षको यही अवधिलाई हेर्दा ३८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ।







