कोभिड १९ (कोरोना) महामारीका कारण अति प्रभावितको सूचीमा परेका विभिन्न पेशा व्यवसाय क्षेत्रलाई नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोनाबाट अति प्रभावित र मध्यम प्रभावित विभिन्न २४ क्षेत्रका व्यवसायीक संस्थाहरुलाई चालू आर्थिक वर्ष २०७८र७९ को लागि बैंक तथा वित्तीय संस्थाहरूसँग पुनरकर्जाको लागि आवेदन माग गरेको हो ।
राष्ट्र बैंकले बर्गिकरण गरी लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन दिन सकिने जनाएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा क देखि ग वर्गसम्मका वित्तीय संस्थाबाट पुरकर्जाको लागि आवेदन माग गर्न राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तो कर्जामा आवेदन दिनका लागि १४ कात्तिकदेखि आगामी १९ मंसिरसम्मको समय तोकिएको छ ।
यस्तो कर्जाको आवेदन माग गर्दा रितपूर्वक र आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म हुनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यस्तै एकभन्दा बढी वित्तीय संस्थाबाट वित्तीय सुविधा लिइरहेका कम्पनी फर्महरुले भने एउटै वित्तीय संस्थाबाट मात्र यस्तो ऋणको आवेदन दिन सक्ने छन् ।
यस्तो ऋण लिने वित्तीय संस्थाहरुका एक शाखाबाट पाँच वटा फर्मलाई मात्र ऋण दिन पाउनेछन् । ऋण दिने संस्थाको पुँजी कोष राष्ट्र बैंकले तोके बमोजिमका भएका वित्तीय संस्थाहरुले मात्र यस्तो ऋणको आवेदन लिन पाउने छन् । साथै पुनरकर्जा लिनका लागि राष्ट्र बैकले बनाएको कार्यविधिभन्दा फरक प्रकारका कम्पनी वा फर्म र रित नपुगेका कम्पनी तथा फर्मको आवेदन खारेज गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन माग गरेको यो दोस्रो पटक हो ।






