शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी हुन् तपाईले जान्नै पर्ने १५ टिप्स

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । ५ वर्षयता डिम्याट खाता खोल्नेहरुको संख्यामा ३ गुणाले बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु तथ्यांकअनुसार डिम्याट खाता खोल्नेहरुको संख्या ५० लाख ५२ हजारले बढेको छ । २०७७ सालसम्ममा जम्मा १७ लाखले मात्रै डिम्याट खाता खोलेका थिए ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा डिम्याट खाता खोल्नेको संख्या ६७ लाख ५२ हजार ७०० पुगेको छ । यसबाट पछिल्लो करिब ५ वर्षको अवधिमा डिम्याट खाता खोल्नेहरुको संख्या २९७.२२ प्रतिशतले बढेको देखाउँछ । तर यस क्षेत्रको सहि ज्ञान नहुँदा कतिपय लगानीकर्ताहरु फँसिरहेको गुनासो आउने गरेका छन्। तसर्थ सेयर बजारमा लगानी गर्दा केहि बिषयमा जान्नैपर्ने हुन्छ।

यी हुन् शेयरबजारमा लगानी गर्नेहरुले जान्नै पर्ने महत्वपूर्ण टिप्स:

१. यदि तपाई शेयर बजारमा नवप्रवेशी हुनुहुन्छ भने यसबारे धेरै कुरा सिक्नुपर्ने भएकाले प्राथमिक बजारबाट लगानी गर्नुहोस्।

२. प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेको नेपालीका लागि छुटयाई बाँडफाँट गर्नुपर्ने व्यवस्था २०७९ मंसिर १७ देखि लागू भई कार्यान्वयमा आईसकेको सन्र्दभमा श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरूले आस्वा सदस्य बैंकमार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सिआरएन नम्बर लिई गरिएको व्यवस्थाको परिपालना गरी सेयरमा आवेदन दिनुपर्ने हुन्छ।

४. शेयर बजारमा हुने लगानीमा आकर्षक प्रतिफलसँगै जोखिम पनि उत्तिकै रहेन भएकाले हल्ला, अनावश्यक प्रचार-प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका बिषयमा स्पष्ट जानकारी लिई जोखिम बहन गर्ने क्षमताअनुसार लगानी उपकरण छनौट गरी लगानी गर्नुपर्ने हुन्छ।

५. शेयर बजारमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ। अन्यथा बजारमा आउने उतारचढावले लगानी डुब्ने सम्भावना रहन्छ।

६. दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग र क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गरेर मात्र लगानी गर्नुभयो भने तपाइको लगानी सुरक्षित हुने एवं उचित प्रतिफल लिन सक्नुहुनेछ।

७. शेयर बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले शेयर बजारमा लगानी गर्दा यसप्रति समेत सजग रहनुपर्ने हुन्छ ।

८. मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले शेयर बजारलाई प्रत्यक्ष असर गर्ने भएकाले लगानी गर्दा यस्ता विषयको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुपर्ने हुन्छ ।

९. शेयर बजारमा हुने जोखिमलाई न्यूनीकरण गर्न दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकारी लिनुपर्ने हुन्छ । यसका लागि लगानी विविधिकरणमा ध्यान दिन अति जरुरी हुन्छ।

१०. शेयर बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गर्नुपर्ने हुन्छ। जसले तपाइको नाफा सुरक्षित गर्न सहजीकरण गर्दछ।

११. शेयर बजारमा नयाँ नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहनुहोस् ।

१२. शेयर बजारमा लगानी रकमको लेनदेन गर्दा बैंकमार्फत् गर्ने तथा कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा जानकारी दिनुपर्ने हुन्छ। यसबाट तपाई ठगिने सम्भावना न्यून रहन्छ।

१३. नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यवस्था भएको हुँदा सो बारे जानकारी लिनुपर्ने हुन्छ। साथै दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) बाट मात्रै गर्नुपर्ने हुन्छ।

१४. शेयर बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने र यस सम्बन्धमा कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी सिडिएससी, नेप्से या बोर्डमा सम्पर्क गर्ने बानी गर्नुहोला ।

१५. . शेयर बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत संचालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भइ बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान लिनुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *