काठमाडौं । देशमा रोजगार नहुँदा दिनहुँ हजारौं युवाहरु विदेशिन बाध्य छन् । विदेशिएका युवा मध्य अधिकांश उतै पलायन हुने गर्छन् भने केहि अलपत्र छन्। देशमा रोजगारी तथा उपयुक्त वातावरण नहुँदा वैदेशिक यात्रा सबैको सपना बनेको छ। कसैको रहर छ त कसैलाई बाध्यता । तर, त्यहि सपना पूरा गर्ने चक्करमा दिनहुँ सयौँ युवाहरु ठगिइरहेका छन। कतिपय जानेर ठगिएका छन् त कतिपय नजानेर । राज्य संयन्त्र बलियो नहुँदा कसैको रगत पशिनाको कमाईमा मस्ती गर्नेहरु खुलेआमरुपमा ठगी धन्दा चलाइरहेका छन्। पीडित घर न घाटको बनिरहेका छन्।
यस्तै, वैदेशिक यात्राको सपनामा चलाख आमाछोरीबाट सयौँ सीधासाधा युवाहरु लुटिएका छन्। बेन्चमार्क स्टडी डेस्टिनेशन कन्सल्टेन्सीका संचालक ‘आमा’ महालक्ष्मी खरेल र ‘छोरी’ बिनिता रिजाल सयौँ युवाहरुवाट झन्डै ४ करोडभन्दा बढी रकम उठाएर फरार छन्। काठामाडौंको पुरानो बानेश्वरमा कार्यालय खोलेर युरोप पठाउने भन्दै ठगी धन्दा चलाउँदै आएका आमाछोरीले सयौँ युवाको भविष्यसँग खेलबाड गरी बिल्लीबाठ बनाएका छन्।
यस्तो छ घटनाको नालीबेली
विदेश जाने शिलशिलामामा अप्रित २०२४ मा कन्सल्टेन्सी पुगेका बुटवलका जितेन्द्र बहादुर लामा, सोलुखुम्बुका दाजुभाई नविन कार्की र नरेश कार्की, दाङका लाल बहादुर चौधरी, रविन्द्र महर, जित बहादुर रोक्का महेश कुवर,नविन बाघ, गुप्त बहादुर रोक्का, भिम कुमार लिम्बु होमनाथ सापकोटा लगायत सयौँ युवाबाट प्रतिव्यक्ति १० देखि २० लाखसम्म उठाएपछि आमाछोरी कन्सल्टेन्सीनै बन्द गरेर फरार छन्।
युरोपको ग्रिस पठाउन नेपालबाट सम्भव नभएकोले भीएफएक्सका लागि दिल्ली जानुपर्ने र यसका लागि सुरुमै रकम बुझाउनु पर्ने भन्दै यी ‘आमाछोरी’ रकम अशुल गरी युवालाई दिल्ली पठाए। पासपोर्टमा भिसा पनि लाग्यो। सोहिअनुसार टिकट पनि आयो। टिकटमा भएको मितिमा युरोप जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। त्यहाँ पुग्दा उनीहरुलाई अध्यागमनका कर्मचारीले रोकेपछि उनीहरु शशंकित भए। अध्यागमनले ‘तपाईहरुको टिकट भिसा सबै नक्कली हो’ भनेपछि उनीहरु छाँगाबाट खसेझैं भए।
आँफूहरु ठगिएको थाहा पाएपछि उनीहरुले आमाछोरीलाई टेलिफोन सम्पर्क गरे। तर, उनीहरुले फोन अफ गरिसकेका थिए। कन्सल्टेन्सी पुग्दा त्यो पनि बन्द थियो। युवाहरुलाई ‘विश्वास गर्नुस्’ भन्दै चाबहिल गणेशस्थानमा देखाएको घर पुगे। उक्त घर पनि बैंकले लिलामी गरिसकेको थाह पाए। त्यसपछि छोरी विनिताका श्रीमानलाई भेटे। उनले विनितासँग सम्बन्धविच्छेद भएको कागज देखाए। छिमेकमा बुझ्दा कागजी रुपमा छुट्टिएको देखाएर सँगै बस्ने गरेको बुझेपछि यसमा उनको श्रीमानको समेत संलग्नता रहेको भन्ने बुझेका उनीहरुसँग राज्य प्रशासन गुहार्ने भन्दा अर्को विकल्प थिएन। तर कन्सल्टेन्सीका कानूनी सल्लाहाकारले ‘मुद्दा मामिलामा नजानुस्, रकम उठाउन मा सहयोग गर्छु’ भनेपछि उनीहरु केहि समय पर्खिए। अघिवक्ताको सहयोगमा केहिले बुझाएको रकमको चेक लिए तर खातामा पैसा थिएन।
वैदेशिक रोजगार विभाग पुग्दा प्रमाण ल्याउन भनियो। विनिताको खातामा जम्मा गरेको रकमको विवरण लिएर अर्को दिन पुन: विभाग पुगेका युवाहरुको निवेदन नै लिन मानेनन्। तर, विभागमै धर्ना दिन थालेपछि आमाछोरीविरुद्दको निवेदन दर्ता गरियो। हाल उनीहरुविरुद्द ३० वटाभन्दा बढी पक्राउ पुर्जी छन्।
यी आमाछोरीविरुद्द पक्राउ पुर्जी जारी भएको पनि एक बर्ष बितिसक्यो। पिडित युवाहरु पक्राउ पुर्जी बोकेर दिनहुँ काठमाण्डौ प्रहरी परिसर पुग्छन्। तर प्रहरी भन्छ, ‘हामीकहाँ तपाइका जस्ता सयौँ पक्राउ पुर्जी छन्। कि माथिबाट फोन गर्न लगाउनुस् कि खोजेर ल्याउनुस् हामी कारबाही गर्छौं।’ यी आमाछोरी दिल्लीमा लुकेर बसेको भन्ने अपुष्ट जानकारी पाएपछि खबर दिन परिसर पुग्दा दिल्लीसम्म पुगेर फर्केर आउँदासम्म लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने हो भने जान्छौं भनेपछि फर्किएको पिडित दाजुभाई कार्कीका बुवा नपसिंह बताउँछन्। राज्यका जिम्मेवार निकाय र प्रहरी प्रशासनले समेत उचित कारबाही नगरीदिँदा पिडकलाई झनै हौशला थपिएको पीडित अझै पिडित बनिरहेको उनको गुनासो छ।
युरोपको ग्रिस जानका लागि बुटवलका जितेन्द्र बहादुर रानाका बुवाले स्थानीय एक लघुवित्तबाट ऋण निकालेका छन्। लघुवित्त दिनहुँ आएर ऋण तिर्न दवाव दिएपछि उनले आफ्नो पसल र मोटरसाइकल बेचेर एक किस्ता तिरेको बताउँछन्। उनी भन्छन्, ‘एक किस्ता त बल्लतल्ल तिरियो अब अर्को किस्ता तिर्न सक्ने अवस्था छैन। सहकारीले घर लिलाम गर्छौं भनिरहेको छ हामी त बिल्लीबाठ भयौं।’
वैदेशिक रोजगार ऐन, २०६४को परिच्छेद ९ अन्तर्गत कानुन किताब व्यवस्था समितिमा नेपाल सरकार कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालय अन्तर्गत ‘इजाजतवाला वा कुनै व्यक्तिले कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा, इजाजतपत्रवालाले विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाएमा, १८ वर्ष उमेर पूरा नभएको व्यक्तिलाई वैदेशिक रोजगारमा पठाएमा, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा, विभागको अनुमतिविना शाखा कार्यालय खोले, विज्ञापन प्रकाशन नगरेमा, रोजगार करार विपरीत कार्य गरे गराएमा, इजाजतवालाले व्यक्तिगत रूपमा कामदार पठाएमा, रकम फिर्ता वा क्षतिपूर्ति दिन इन्कार गरेमा, छनोट सूची प्रकाशन नगरेमा, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा, लिखत प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा, विभागले दिएको आदेश वा निर्देशन पालना नगर्ने’जस्ता कार्यलाई कसुर भनी परिभाषा र दण्ड सजायको व्यवस्था गरिएको छ।
साथै, वैदेशिक रोजगार कसुरमा बढीमा सात वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने र वैदेशिक रोजगार पीडितलाई बुझाएको रकममा ५० प्रतिशत क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था छ । कामदार विदेश गएको भए जाँदा–आउँदाको खर्च समेत भरी पाउने कानुनी व्यवस्था छ ।
तर , एकजना व्यक्तिविरुद्द ३० वटाभन्दा बढी पक्राउ पुर्जी हुँदा समेत त्यस्ता व्यक्ति पक्राउ नपर्नु दुख:को कुरा भएको कानुनविद् नरायण थापा बताउँछन् । यी र यस्ता यस्ता घटनाले शुसासनको नारा लगाउने सरकारलाई गिग्याइरहेको उनको भनाई छ । साथै स्थानीय सरकार र नागरिक समाजको सहकार्यमा वैदेशिक रोजगारको कानुनी कार्यविधिबारे जनचेतना अभिवृद्धि गर्ने र वैदेशिक रोजगार पीडितका लागि निःशुल्क कानुनी सहायता दिनुपर्ने उनी बताउँछन् ।