चालु खर्च ६५ बाट ३५ प्रतिशतमा झार्न पूर्वअर्थमन्त्री शर्माको सुझाव

काठमाडौँ। पूर्वअर्थमन्त्री समेत रहेका माओवादीका उपमहासचिव जनार्दन शर्माले चालु खर्चलाई व्यापक मात्रमा कटौती गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद शर्माले चालु खर्चको भार घटाएर उत्पादन मुलक क्षेत्रमा केन्द्रित गर्न सुझाव दिएका हुन्।

शर्माले जेठ १५ गते संघीय संसदमा पेश हुने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई आम्दानी र खर्चको फाँटमात्र नबनाएर असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमुलक दस्तावेजको रुपमा ल्याउन आग्रह गरेका हुन्।

शर्माले राजश्व १० खर्बको वरिपरिमात्र रहेको तर तानतुन गरेर दुई चार खर्ब थपेर बजेट बनाउँदा जनअपेक्षा पूरा नहुने उल्लेख गरे। शर्माले आर्थिक पुनर्संरचना आवश्यक रहेको बताए।

‘बजेटलाई एउटा आम्दानी खर्चको फाँटवारीमात्र नभएर हामीले एउटा देशको समृद्धिको सामाजिक न्यायको र असमानताकाृ खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने एउटा उद्देश्यमुलक दस्तावेजको रुपमा प्रस्तुत हुनेछ भन्ने विश्वास लिन चाहन्छु, शर्माले अगाडि भने, ‘बजेट बनाउँदा जनअपेक्षा पूरागर्ने स्रोत हामीसँग छैन । त्यो स्रोत कहाँबाट ल्याउने ? बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ । १७ प्रतिशत मात्र पुँजीगत खर्च हो त्यो पनि खर्च हुँदैन । त्यसकारण त्यो ६५ लाई ३५ मा झार्नेगरि ल्याउनुस्। हाम्रो समर्थन रहनेछ ।’

पूर्वअर्थमन्त्री शर्माले जनजीविकाका सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकोले जनताको निशारा चिर्ने गरि अघि बढ्न सुझाव दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *