काठमाडाैं। मधेश प्रदेशमा पहिलोपटक प्रादेशिक स्तरमा डिजिटल प्रविधि, नवप्रवर्तन र नीति सम्वन्धी विशाल सम्मेलन ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुन लागेको छ। वैशाख ३१ गते बुधबार महोत्तरीको बर्दिवासस्थित होटल नाभ्यामा हुने उक्त कन्क्लेभ मधेश प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको संयुक्त सहकार्यमा आयोजना गरिने भएको हो।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ नारामा केन्द्रित कार्यक्रमले प्रदेशको डिजिटल भविष्य, नीतिगत सुधार, पूर्वाधारको अवस्था, अवसर र चुनौतीमाथि गहिरो छलफल र अन्तर्क्रिया गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा ३० बढी डिजिटल, सूचना प्रविधि र नीति विज्ञहरूको सहभागिता रहनेछ भने ३ वटा किनोट प्रस्तुतिसहित ६ भन्दा बढी विषयगत प्यानल छलफलहरू संचालन गरिने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ। कार्यक्रम अन्तर्गत डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, आर्टिफिसियल इन्टेलिजेन्स र डेटा सुरक्षा, स्टार्टअप र इनोभेसन, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका क्षेत्रमा विशेषज्ञहरूको प्रस्तुति तथा बहस हुनेछ।
कन्क्लेभमा मधेशमा हाल सञ्चालनमा रहेका डिजिटल इनिसिएटिभ्स र सम्भावित डिजिटल समाधानहरू प्रस्तुत गरिनेछ। सहभागीहरूले www.madhesh.digital मा गई आ-आफ्ना विचार तथा समाधानहरू दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
हालै सुर्खेतमा सम्पन्न “डिजिटल कर्णाली कन्क्लेभ” पछि यस प्रकारको दोस्रो प्रादेशिक सम्मेलन मधेशमा हुन लागेको हो। आयोजकका अनुसार कन्क्लेभमा स्थानीय तह, मन्त्रालय, नीति निर्माणकर्ता, स्टार्टअप, उद्योगी, अनुसन्धानकर्ता र प्रविधि क्षेत्रका सरोकारवालाहरू गरी ३०० बढीको सहभागिता रहनेछ।
यस कन्क्लेभबाट आउँदो आर्थिक वर्षका बजेट तथा नीति कार्यक्रमहरूमा डिजिटल तथा आइसिटी क्षेत्रलाई प्राथमिकता दिन सघाउ पुग्ने अपेक्षा गरिएको छ।







