प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

प्राइम कमर्शियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्षे अवधिको प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ । चैत २१ गतेसम्म विक्रीमा रहने मिति तय गरेको बैंकले माग बमोजिम आवेदन नपरेपछि अवधि चैत ३० गतेसम्मको मिति तय गरेको हो ।

बैंकले कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ। बाँकी १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने भएको छ ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।

ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *