बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा बिचौलियाबीचको तानातानका कारण ढिलाइ भएको आरोप लगाएका छन् । रुपन्देहीमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषय दलहरूबीच नभई बिचौलियाबीच नमिलेको कारण प्रक्रिया अघि नबढेको दाबी गरे ।
स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भी समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका हुन् ।
‘अहिले गभर्नरको विषयमा बिचौलियाबीच तानातान छ । तपाईंहरूलाई लाग्न सक्छ पार्टीबीच भागबन्डा नमिलेको हो, तर वास्तविकता त्यस्तो छैन,’ उनले भने, ‘कहिले कांग्रेस, कहिले एमालेको लाइन समाउने खेल भइरहेको छ । यसै कारण ढिलाइ भएको हो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पनि बिचौलियाको स्वार्थअनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए ।
उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्वपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरे । पार्टी र समाजवादी मोर्चाकै तर्फबाट पनि पटक-पटक सरकारलाई खबरदारी गरिरहेको बताउँदै उनले सरकारले भने त्यतातिर ध्यान नदिएको बताए ।
उनले कांग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा भनिसकेको बताउँदै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको बताए ।