सर्वोत्तम स्टीलको अवैध कारोबारमा मेयर सरावगीको गुप्त सेटिङ

नेपालको नम्बर वान भनिएको सर्वोत्तम स्टीलको नाममा व्यापक रुपमा अवैध कारोबार हुने गरेको छ । भारतीय लगानीकर्ताको संलग्नतामा स्टीलका सञ्चालकहरु विष्णुप्रसाद न्यौपाने, राजेश अग्रवालले कम्पनीको नाममा अवैध कारोबार गर्ने गरेका हुन् । सर्वोत्तम स्टीलको गोदाममा त्यसरी भित्र्याइएका अवैध सामानहरु भारतीय लगानीकर्ताले अवैध रुपमा राख्ने गरेको प्रहरीको सूचनाले पुष्टि गरेको छ ।

केही समय अघि वीरगंज नाकाबाट भन्सार राजस्व छली गरि अवैध रुपमा नेपाल चित्र्याइएको दुई करोड ३० लाख मूल्य बराबरको सामान प्रहरीले ट्रक सहित बरामद गरेको थियो । कम्पनीले स्टीलको नाममा भारतबाट भन्सार राजश्व छली ठूलो मात्रामा सामान भित्र्याउने गरेको केही समय अघि प्रहरीले पत्ता लगाएको थियो ।

प्रहरीले चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार वीरगंजबाट भित्रिएका चार वटा ट्रक चेकजाँच गर्दा ८६ पोका भन्सार छलीको कपडा बरामद गरेको हो ।

फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक सुवास भट्ट नेतृत्वको टोलीले सो सामान बरामद गरेको थियो । ट्रकबाट एक करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको हो ।

प्रहरीले ना. ६ख ११३, ना. ६ख ११६६, ना. ६ख ५०६१ र ना. ७ख ९२३४ नम्बरको ट्रक तथा सो ट्रक चालकलाई नियन्त्रणमा लिएको थियो भने ट्रक र सामान सहित तीन करोड ४९ लाख मूल्याङ्कन गरेर वीरगंज भन्सार पठाइएको थियो । तर ‘सेटिङ’ मा भन्सारबाट ट्रक छुटाइयो ।

यो कम्पनी अन्य विवादमा समेत मुछिएको छ । विषेश श्रोतका अनुसार २०७८ भदौ १२ गते यही कम्पनीमा स्टील उद्योगको चिम्नी खसेर ५ जना  नागरिकको मृत्यु भएको थियो । यस घटनाका कारण कम्पनीका संचालकमाथि पूर्वमन्त्री अफताम आलमको जस्तै मुद्दा चल्न सक्ने सम्भावना देखिएपछि कम्पनीले पीडित परिवारलाई ८ लाख रुपैयाँ दिएर यो घटनालाई ढाकछोप गर्यो ।

घटनाका सम्बन्धमा बुझ्नका लागि  संचालक राजेश अग्रवालले प्रयोग गर्ने ९८५५०२२८२८ को मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् ।

यस सम्बन्धमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष मोहम्मद ग्यासुदिन मियाँले ५ जनाको मृत्यु भएको र ८ लाख दिएर केश मिलाएको कुरा अर्थसंजाललाई बताएका छन ।

यस बिषयमा जानकारी लिन खोज्दा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख यवं सर्वोत्तम स्टीलका संचालक राजेश अग्रवालका सहोदर सम्धी विजय कुमार सरावगीले सुरुमा त उक्त कम्पनीले अबैध कारोवार नगर्ने बताए । तर पछि तथ्यप्रमाण सहित समाचार आएपछि समाचार हटाउन एक प्रतिष्ठित मिडियाका सम्पादकलाई दवाव दिइरहेका छन् ।

सरावगी पेशाले ब्यापारी हुन्। तर केही समयदेखि पैसाको आडमा तुच्छ किसिमको राजनीति गरिरहेका छन । जसपाबाट टिकट लिएर नगरप्रमुख बनेका सरावगी नेपाली काँग्रेसका सबै जसो शीर्ष नेताको घर चाहार्दासमेत उचित स्थान नपाएपछि अहिले नेकपा (एमाले) प्रवेश गरेका छन् । स्पष्ट नीति  एवम् दृढ संकल्प नभएका ढुलमुले स्वभावका सरावगीको पछिल्लो कार्य प्रकृति र नगरवासीको चाहना हेर्दा यो पटक उनको नराम्रोसंग हार हुने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *