काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले सरकारले व्यक्ति अनुसार मापदण्ड बनाएर गभर्नर नियुक्ति गर्न खोजेको आरोप लगाएका छन् । नेता किरातीले गभर्नर नियुक्तिको लागि बनाइएको मापदण्डमा स्वार्थ समूहको हाबी, ठूलो मात्रामा आर्थिक लेनदेन र राम्रालाई भन्दा हाम्रालाई नियुक्ति गर्ने प्रवृत्तिले निरन्तरता पाएको बताएका छन् ।
साथै, उनले सरकारको सुशासनले गणतन्त्रमाथि अझै खतरा बढ्ने निश्चित रहेको बताएका छन् । ग्रे–लिस्टमा पुगेको देशको अर्थतन्त्र अब ब्ल्याक लिस्टमा पुग्ने उनको दाबी छ । ‘गभर्नर नियुक्तिबारे । मापदण्ड अनुसार व्यक्ति छनोट गर्ने होइन, व्यक्ति अनुसार मापदण्ड बनाउने सरकारको नियत स्पष्ट देखियो ।
स्वार्थ समूहको हाबी, ठूलो मात्रामा आर्थिक लेनदेन र राम्रालाई होइन हाम्रालाई नियुक्ति गर्ने प्रवृतिले फेरिपनी निरन्तरता नै पायो । सिंहदरबारको कुशासनले एकातिर गणतन्त्र माथि अझ खतारा बढने र अर्कोतिर खैरो बाटोमा हिँडेको अर्थतन्त्र अब कालो बाटोमा पुग्ने निश्चित छ । ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुङग्रो राखे पनि बाङ्गोको बाङ्गै’ भन्ने उखानजस्तै,’– किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको मुखैमा सरकारले योग्यता सम्बन्धी मापदण्ड नै फेरबदल गरेको छ । सरकारले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गर्दै अर्थ मन्त्रालय मातहत निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएको छ ।






