जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरु अतिथिको रुपमा आमन्त्रित थिए । उक्त सभाबाट सर्वसाधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तिन जनाको उम्मेदवारी रहेको थियो ।
उक्त २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा जम्मा १२६०२६ मत खसेकोमा १३९ मत बदर भएको थियो । भने गोकर्ण खतिवडा ज्युले ६७४४७.मत, अशोक सिटौलाले ५३९०३ मत र ज्ञान बहादुर पौडेल (ज्ञानेन्द्र) ज्युले ४५३७ मत प्राप्त गरेका थिए ।
यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा ज्यु र अशोक सिटौला ज्यु निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन भएका छन् । नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।
आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशतले हुन आउने रकम बयालिस करोड अन्ठाउन्न लाख असी हजार रुपैयाँ बोनश शेयर तथा ३.६८४२ प्रतिशतले हुन आउने रकम दुई करोड चौविस लाख चौध हजार सात सय छत्तीस रुपैयाँ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) साधारण सभाबाट पारित भएको छ ।







