एचआईभी पीडितको स्वास्थ्यसँग खेलवाड गर्दै आरुष आयुर्वेद: अवैध रुपमा करोडौँ अशुली, प्रशासन मौन [भाग-२]

काठमाडौं । राज्यको सहज पहुँच र उलेख्य उपस्थिति रहेकै ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा अवैध रुपमा संचालित आरुष आयुर्वेदिक क्लिनिकले मानव स्वास्थ्यसँग गम्भीर खेलवाड गरिरहेको पाईएको छ।

आयुर्वेदिक उपचारको नाममा एचआईभी निको पार्ने औषधि भन्दै यस क्लिनिकले सयौं एचआईभी संक्रमितलाई काठको धुलो जस्तो देखिने पाउडर बेचेर दिनहुँ लाखौँ रुपैंया ठगिरहँदा समेत राज्यका सरोकारवाला निकाय भने मौन देखिन्छन्।

यस आयुर्वेदिक क्लिनिक घरेलु तथा साना उद्योग कार्यालयमा २०७६ साल कात्तिक ६ गते दर्ता गरिएको छ तर स्वास्थ्यसम्बन्धी कुनै पनि आधिकारिक अनुमति भने लिएको छैन। उक्त क्लिनिकका सञ्चालक अन्दाजी ७५ वर्षीय वृद्ध कृष्णप्रसाद पोख्रेल हुन्। पोखरेललाई आयुर्वेदिक क्लिनिक संचालन गर्ने र औसधि बिक्री वितरण गर्ने कुनै पनि कानुनी अधिकार छैन । न त उनी स्वास्थ्य क्षेत्रमा विज्ञ हुन् न औषधि तथा स्वास्थ्य सेवा प्रदान गर्ने कुनै कानुनी योग्यता पुगेका व्यक्ति। तर उनी आँफुलाई आयुर्वेदको रिसर्चर हुँ भन्दै खुलेआम प्राणघातक रोगको समेत उपचार गर्ने दावी गर्दै आईरहेका छन्।

प्रचलित कानुनअनुसार स्वास्थ्य सेवा दिन र कुनै पनि औसधिजन्य कारोवार गर्ने संस्था संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । तर, सामन्य कानुनी प्रक्रियासम्म पूरा नगरी आरुष आयुर्वेदिक क्लिनिकले निर्वाध रुपमा जडिबुटीजन्य औसधि भन्दै ‘अन सर्टिफाईड’ बस्तु मनपरी मूल्य लिएर वितरण गर्दै आईरहेको छ।

अझ रोचक कुरा त के छ भने, उक्त क्लिनिक सञ्चालन भएको सटरमै आशुष आयुर्वेद औषधालय नामक अर्को व्यवसाय पनि सञ्चालन भइरहेको छ । नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ११ निवासी लियन पौडेल को नाममा दर्ता गरिएको यो औषधालय पनि कृष्णप्रसाद पोख्रेलले नै संचालन गरिरहेका छन्। तर उक्त औषधालय संचालन गरेर सर्वसाधारणबाट ठगि गरेको रकम भने पौडेल र पोख्रेल मिलेर बराबरी भाग लगाउने गरेको श्रोतको बताउँछ ।

पौडेल र पोख्रेलको मिलेमतोमा यी क्लिनिकबाट एचआईभी एड्स , क्यान्सर , हेपाटाइटिस जस्ता प्राणघातक रोग निको पार्ने दावीसहित प्रतिबट्टा १० हजार रुपैंया देखि ५० हजार रुपैंयाँसम्म लिएर बिक्री गरिँदै आएको छ। प्राणघातक रोग निको पर्ने भनिएको उक्त काठको धुलो जस्तो देखिने बस्तुमा औषधिय गुण छ या छैन ? यसको सेवनले मानव स्वास्थ्यलाई सकारात्मक वा नकारात्मक कस्तो किसिमको असर पर्छ ? उक्त बस्तु कुन-कुन पदार्थ मिसाईएर तयार पारिएको हो ? यसको उत्पादन र प्रयोग समाप्ति मिति कहिलेसम्म छ ? यसको बिक्री मूल्य कति हो ? भन्ने जस्ता सामान्य तर अतिआवश्यक जानकारी सम्म छैन। उत्पादित बस्तुमा लेवल अनिवार्य राख्नुपर्ने कानुनी प्रावधानको छ तर यस नियमविपतित उक्त आयुर्वेद क्लिनिकले बिरामीहरुको स्वस्थामाथि खेलवाड गर्दै अनेक किसिमका आश्वासन दिएर ठगी गरिरहेको छ।

त्यस्तै, औषधालय सञ्चालन गर्न फार्मेसी काउन्सिलबाट अनुमति लिनुपर्छ । औषधि बिक्री वितरण गर्ने संस्था सरकारको नियमनमा रहनुपर्ने प्रावधान। तर, यस औषधालय कानुनी प्रक्रिया पूरा नै नगरी नियमविपरीत अवैध रुपमा सञ्चालन हुँदै आएको छ।

नेपालको औषधि ऐन, २०३५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले अनधिकृत रूपमा औषधि विक्री–वितरण गर्नपाईंदैन। स्वास्थ्य सेवासम्बन्धी व्यवसाय सञ्चालन गर्दा स्थानीय तह, स्वास्थ्य मन्त्रालय वा सम्बन्धित नियामक निकायबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी प्रावधान छ। तर उक्त फार्मेसी र क्लिनिकले विधमान कानूनको खिल्ली उडाउँदै निर्वाध रुपमा व्यापार गरिरहेको छ।

कानुनी राज्यमा कानुनकै धज्जी उडाउदै आयुर्वेदिक उपचारको नाममा प्रशासनकै आँखा अगाडि मावन स्वास्थ्यमा आघात पुग्ने किसिमको क्रियाकलाप भइरहँदा समेत सम्बन्धित निकाय मौन बस्नुले यस क्लिनिकको अपराधमा राज्यको संलग्नता रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *