नेपाल राष्ट्र बैंकले चारपाङ्ग्रे तथा मोटरसाइकलजस्ता सवारी आयात निरुत्साहन गर्न विभिन्न कर थप्ने तथा एलसीमा नगद मार्जिनको (नगदै राख्ने) प्रस्ताव अगाडि सारेको छ । राष्ट्र बैंकले सरकारलाई अल्पकालीन र दीर्घकालीन गरी करिब डेढ दर्जन सुझाव दिँदै उक्त प्रस्ताव अगाडि सारेको हो ।
सुझावमा विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले चारपाङ्ग्रे तथा मोटरसाइकलजस्ता सवारी आयात निरुत्साहन गर्न विभिन्न कर थप्ने तथा एलसीमा नगद मार्जिनको (नगदै राख्ने) प्रस्ताव पनि गरिएको छ ।
‘निजी सवारीमा बैंक कर्जाको सीमा घटाउने र विद्यमान अवस्थामा सुधार नभएसम्म यस्ता सवारी आयातमा पूर्ण रोक लगाउने प्रस्ताव पनि छ’ स्रोतले भन्यो ’
यसका लागि अर्थ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गर्नुपर्छ । तर राष्ट्र बैंकले सवारी साधन आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्ने, अत्यावश्यकबाहेकका सामग्री आयातमा कर्जा प्रवाह नगर्नू भन्ने निर्देशन सोमबार नै दिइसकेको छ ।
आकस्मिक रूपमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाई मौखिक रूपमा यस्तो निर्देशन दिएको हो । आयात बन्देजको निर्णय हुन भने बाँकी छ ।







