


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले जलस्रोत तथा सिंचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्ण कुमार श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी २०७७ असारसम्मको अवधिमा गैरकानूनी रकम आर्जन गरेको अख्तियारको दाबी छ । यो अवधिमा उनले ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ ।
अख्तियारले उनीमाथि चार करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो । आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।
लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनामा ठेकेदारहरूसँग मिलेर कमिसन खाएको भन्दै उनीविरुद्ध उजुरी परेको अख्तियारले जनाएको छ ।

अर्थ सन्जाल