काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको अधिक तरलता सन्तुलन गर्न ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने तयारी गरेको छ। पुस २८ गते, आइतबार जारी हुने यो उपकरणमार्फत २१ दिनको अवधिका लागि रकम संकलन गरिनेछ, जसको साँवा र ब्याज माघ २० गते भुक्तानी गरिनेछ।
राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंकहरुले आज मध्यान्ह २ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन् भने बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी माघ २० गते गरिने केन्द्रिय बैंकले जनाएको छ।
सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्नेछ।
अहिले पनि बैंकहरुले खासै कर्जा लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। प्रणालीमा तरलता सन्तुलन राख्न केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नुपरेको छ।
अर्थ सन्जाल